images

१५ वटा किसान संगठनहरुद्वारा संयुक्त आन्दोलन घोषणा

काठमाडौं–दुग्ध उत्पादक किसानहरुको माग सरकारले सम्बोधन नगरेको भन्दै १५ वटा किसान संगठनहरुले संयुक्त आन्दोलन घोषणा गरेका छन् ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, केन्द्रिय दुग्ध सहकारी संघ, नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ किसान संगठनहरुले संयुक्त आन्दोलनको घोषणा गरेका हुन । किसानहरुले दुग्ध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएकाले बाध्य भएर आन्दोलन घोषणा गर्नु परेको बताएका छन् ।

किसान संगठनहरुले अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएको कृषि क्षेत्रको विकासका निम्ति सरकारले प्रभावकारी नीति अवलम्बन गरी कार्यान्वयन गर्न तत्परता नदेखाएको दाबी पनि गरेका छन् । भारतबाट अबैध रुपमा कच्चा दुध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भएका कारण नेपाली किसानले उत्पादन गरेको दुग्ध बिक्री नभएको उनीहरुको गुनासो छ । लम्पी स्किन रोगको कारण पशुपालन किसानहरु ७५ अर्ब भन्दा बढी बराबरको क्षति व्यहोर्न बाध्य भएको अवस्थामा दुग्धको करिव ६ अर्ब बराबरको वक्यौता रकम पनि सरकारले भुक्तानी नदिँदा थप समस्यामा परेको उनीहरुको भनाइ छ । किसानहरुले फागुन १० देखि २१ गतेसम्म लगातार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

किसान संगठनहरुले संयुक्त रुपमा १६ बुँदे माग राखेका छन् । उनीहरुले वक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्र्ने, किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था गर्नुपर्ने, भारतबाट दुध र दुधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गर्नुपर्ने लगायतका माग राखेका छन् ।