images

एमालेले पुनः माग्यो गृहमन्त्री सहितका तीन मन्त्रीको राजीनामा

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्री सहितका तीन मन्त्रीको राजीनामा माग गरेको छ । नेकपा एमालेले सदन सुचारु हुने वित्तिकै उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले एमालेका तर्फबाट सांसद पदम गिरीलाइ बोल्न सदनको माग अनुमती दिएका थिए ।

गत ६ गतेदेखि एमालेले बालकुमारी लगायतका घटनाका विषयमा गृहमन्त्री सहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत सहित लुम्बीनी विकास कोषका उपाध्यक्ष ल्यारक्यार लामालाई बर्खास्त गर्न माग गरिरहेको छ ।

आइतबार बसेको प्रतिनिधि सभामा आकस्मिक समय मागेर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संसद्लाई जवाफ नदिई प्रधानमन्त्री संसद्लाई छलेर हिँडिरहेको बताए । उनले भने–‘हामीले संयमताका साथ जिम्मेवारी बोधका साथ संसद्मा हप्तौँ दिनदेखि उठाएको विषय सुन्न सरकार तयार छैन । आज प्रधानमन्त्रीज्यूले यति महत्त्वपूर्ण विषयमा संसद्मा आएर जवाफ दिनुपर्ने ठाउँमा आज संसद् छलेर बाहिर हिँडिरहनुभएको छ । यहाँ उठेका कुराहरूलाई उहाँले अनदेखा गरिरहनुभएको छ । यो अत्यन्तै दुख र चिन्ताको कुरा हो । हामी कहिले पनि संसद् अवरोध होस भन्ने चाहँदैन । सरकारले सुनिदियो भने हामीले संसद् अवरुद्ध गर्ने, बेल घेर्ने काम गर्नुपर्दैन ।’

प्रतिपक्षले उठाएको विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।