images

संसद र सांसदको मर्यादा खै ?

काठमाडाैं- सार्वभौम संसदमा कानुन निर्माणका लागि मिहिन बहस हुनुपर्ने हो । साथै नागरिकका मुद्दामा छलफल र सरकारलाई जवाफदेही बनाउन सांसदहरु जिम्मेवार बन्नुपर्ने हो । तर, दलीय आरोप–प्रत्यारोपबाट सांसदहरु व्यक्तिगत लाल्छना लगाउन केन्द्रित भएका छन् । जसले संसदको गरिमा त घटाएको छ नै सांसदहरुको तुच्छ टिप्पणीले उनीहरुकै मानमर्दन भएको छ ।

फागुन ११ गतेको प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच आपसमा भनाभन भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले अति संवेदनशील विषयमा सरकार गम्भीर नभए संसद चल्न नदिने दाबी गरेका थिए । लगत्तै बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद चल्न नदिने तर संसदलाई अराजक र उच्छृङ्खल बनाइराख्ने हो भने राजीनामा दिएर सडकमा आन्दोलनमा जान चेतावनी दिएका थिए । सोही विषयमा आइतबारको बैठकमा पनि उही आरोप–प्रत्यारोप दोहोरियो ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने तर्क गरे । पाइहाल्दा मन्त्री पनि भइहाल्ने, यही संसदको लोगो लगाएर भए भरका सेवा सुविधाहरु समेत लिने । फेरि यही व्यवस्थाको विरोध गर्ने यो कति नैतिक छ ? भन्दै उनले राप्रपा सांसदलाई इंकित गर्दै प्रश्न गरे । अघिल्लो बैठकमा आफूलाई राजीनामा दिन भनेका सांसद सापकोटालाई राप्रपा सांसद ज्ञानेन्द्र शाहीले कवितामार्फत जवाफ फर्काए । निहत्था नागरिक मार्नेहरुमाथि कारबाही हुनुपर्छ भन्दा मेरो राजीनामा मागिएको भन्दै उनले कवितामार्फत व्यंग्य प्रहार गरे ।

उनी त्यतीमा मात्रै रोकिएनन् संविधान देखाउँदै प्रचलित व्यवस्थामाथि बहस गर्न पाइने र कसैले सांसदको राजीनमा माग्न नपाउने बताए । आक्रामक रुपमा प्रस्तुत भएका शाहीले संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको बताए ।

शाहीले बोल्दै गर्दा सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेपछि प्रतिनिधिसभा बैठकमा केहीबेर हंगामा भयो । शाहीले घाँटी काटेका जस्ता संसदीय मर्यादाविपरीतका शब्दहरु उच्चारण गरेको भन्दै पाण्डेले आपत्ति जनाए ।

तर, पाण्डेलाई काउन्टर गर्दै कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने बताए । उनले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा आएर बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको भन्दै शाहीको पक्ष लिए ।

सत्तापक्षकै सांसद आफ्नो विपक्षमा उभिएपछि पाण्डे आफ्नो स्थानमा बसेका थिए । त्यसपछि पनि सांसद शाहीले आक्रामक अभिव्यक्ति दिए । संसदमा देखिएका यी दृश्यले हाम्रा सांसदहरुको वास्तविकता उजागर गरिएको छ । जनताको मतबाट निर्वाचित सांसदले सदनमा जनचासोको विषयमा छलफल गर्नुपर्ने व्यक्तिगत रुपमै लाल्छनामा उत्रनुले सांसद र संसदको मर्यादा कहाँ पु¥याउला ?