images

जनकपुरमा मिटरव्याजी साहुको ज्यादती, डाेजर चलाएर घर भत्काईदिएपछि रोहिता परिवारको विच्चली

जनकपुरधाम- मिटरब्याजी साहुहरूको ज्यादती विरुद्ध देशभरका पीडित आन्दोलित भएपछि सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग नै गठन गरेर छानबिन गरिरहेको छ । अधिकांश मिटर ब्याजी साहुको भागाभाग चलेको छ । तर, जनकपुरधाम उपमहानगरपालिका वडा न– १ स्थित घरमा मिटरब्याजी साहुले गुण्डागर्दी शैलीमा जेसीबी लगाएर घर नै भत्काईदिएपछि विच्चलीमा परेकाे छ।

सिरहाका मिटरब्याजी रामचन्द्र वैनवार र उनका छोरा विपीन वैनवार सहितको एक समूहले दुइटा जेसीबी लिएर जय प्रकाश रोहिताको पुस्तेनी घर भत्काईदिएपछि उनीहरू सडकमा बस्न परेकाे छ ।

उनीहरुले जेसीबीले सुरुमा बाउन्ड्री वाल भत्काए । त्यसपछि घरको पर्खाल भत्काउन सुरु गरे । भीडबाटै कसैले घरधनी जयप्रकाशलाई फोन गरेर घरमा डोजर चलाइरहेको जानकारी गराए । घरमा डोजर लगाएको खबर पाउँदा धनुषाको सघारामा उनी आफन्तको जन्तीमा थिए । हतार हतार जनकपुरधाम पुगे । रोहिताले जेसीबी रोक्न खोजे । तर, उनलाई कसैले सुनेनन्, सहयोग गरेनन् । व्याजमा लिएको पैसाको लागि आप्mनो घरमा डोजर चलाईएको जय प्रकाश रोहिता सुनाउँछन् ।

जेसीबी लगाएर रोहिताको पाँच वटा कोठाको एक साइडको पर्खाल र बाउन्ड्री वाल भत्काइएको छ । घरका ढोकाहरु फोडेर घरभित्र प्रवेश गरी फर्निचर समान र दराजसमेत तोडफोड गरिएको छ ।

घटनापछि रोहिता परिवार घरमा बस्न सकेका छैनन् । छिमेकीको घरमा शरण लिएका उनी भन्छन्, ‘दिनदहाडै पुलिसकै अगाडि मेरो घर भत्कायो ।२०५८ सालमा रोहिताले जग्गा धितो राखेर नेपाल बंगलादेश बैंकबाट १० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिन उनले जनकपुरधाम वकिल टोलमा रहेको ४२ धुर घडेरी जग्गा बैंकमा राखेका थिए ।

समय बित्दै गयो, ब्याज बढ्दै गयो । ऋण चुक्ता गर्न सकेनन् । २०६३ सालमा ब्याज बढेर ऋण १६ लाख पुग्यो । बैंकले जग्गा लिलामीको सूचना निकाल्यो । त्यसपछि करोडौंको जग्गा डुब्ने डरले रोहिता परिवारले वैनवार संग ऋण लिएका थिए । वैनावरले उक्त जग्गा बैंकबाटै आफ्नो नाममा तत्काल ल्याइदिनुपर्ने सर्त राखे बामोजिम वैंकमा  मञ्जुरीनामा गरेर वैंकको ऋण तिरेर वैनवारको नाममा जग्गा पास गरिएका थिए ।

वैनवारबाट जग्गा फिर्ता ल्याउन रोहिताले २७ कट्टा खेत बेचिर हिसाब गरेर पैसा लिनुस् र मेरो जग्गा फिर्ता गरिदिनुस् भनेर आग्रह गर्दा समेत वैनवार राजी नभएको रोहिता परवार सुनाउँछन् ।

ब्याज जोडेर ऋण चुक्ता गरी जग्गा फिर्ता लिन सामाजिक रुपमा प्रहरी कार्यालयमा पटक पटक छलफल हुँदा पनि सहमति नभएको उनको भनाइ छ । रोहिताले सुनाए, ‘प्रहरी चौकीमा छलफल हुँदा आधा आधा जग्गा लिने/दिने सहमति भएको थियो । आधा जग्गामा घेराबेरा पनि लगाईएको थियो ।

घरतोडफोडपछि जिल्ला प्रहरी कार्यालयमा समेत वैनवार विरुद्ध उजुरी परेको छ । उक्त घटना सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले स्पेस समाचारलाइ जानकारी दिए।


बैनवार मिटरब्याजसम्बन्धी उजुरीमा फरार सूचीमा छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा रामचन्द्र माथि पीडित रोहिताले गएको जेठमा मिटरब्याजसम्बन्धी उजुरी दिएका थिए । साउन २८ गते छलफलमा वैनवारको छोरा विपीनले सुरुमा जग्गा खरिद गरेको र रोहितासँग कुनै विवाद नरहेको दाबी गरेका थिए । तर, विवाद नभए किनेको घरजग्गामा १७ वर्षदेखि रोहिता नै कसरी बसिरहेको भन्ने प्रश्न गरेपछि विपीनले भनेका थिए, ऋण तिर्न नसकेपछि जग्गा दिएको हो ।