images

भोजपुर र धनकुटा जोड्ने पुल सातवर्षदेखि अलपत्र

भोजपुर– भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल ७ वर्षदेखि अलपत्र अवस्थामा छ । ठेक्का लागेको ३ वर्षपछि मात्रै काम सुरु गरेको निर्माण कम्पनीको ढिलासुस्तीका कारण कामले गति लिन नसकेको हो ।

भोजपुरको हतुवागढी ६ होम्ताङ र धनकुटाको पाख्रीबास नगरपालिका–८ मुगा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माणका लागि २०७६ सालमा काम सम्पन्न गर्ने गरी लुम्विनी महाविर मृत सन्जिवी जेभीसँग २०७३ सालमा सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०७६ सालमै काम सम्पन्न गनुपर्ने भएपनि कम्पनीले सोही बर्षबाट मात्रै काम सुरु गरेको थियो । ठेक्का सम्झौता सम्पन्न हुने समयमा मात्र काम सुरु गरेको ठेकेदार कम्पनीले निर्माणको कामलाई वेवास्ता गरेको स्थानीयवासी धनकहर्क राईको आरोप छ ।

पहिलो चरणमा पिलर उठाएपछि काम ठप्प जस्तै बनेको पुल निर्माणको काम यसपटक मङ्सीरदेखि पुन सञ्चालन गरिएको थियो । अन्तिम पटक थप भएको मिति अनुसार आगामी असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । सम्झौता सकिनै लाग्दा कम्पनी बल्ल तीन इस्पानमा निर्माण भईरहेको पुलको धनकुटा तर्फको इस्पानको ढलानको तयारीमा छ । तर निर्माण कम्पनी भने पुलको ७० प्रतिशत काम सम्पन्न भईसकेको लुम्बिनी महावीर मृत सन्जिवी जेभीका इन्जिनियर नारायण चौधरीले दाबी गरे ।

गाउँपालिकाले भने समयमै काम सक्नका लागि ताकेता गरिरहेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

पुलको पहिलो इस्पानको लम्बाई ३७ दशमलव ५५, दोश्रो इस्पानको लम्बाई ८० मिटर र तेस्रो इस्पानको लम्बाई ५८ दशमलव ३८ मिटर रहेको छ । हालसम्म दश करोड २९ लाख ११ हजार छ सय ४२ भुक्तानी भइसकेको छ ।