काठमाडौं– शेर्पा समुदायले सोमबार ग्याल्पो ल्होसार मनाउँदै छन् । हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछन् । यो २१५१ औँ ग्याल्पो ल्होसार हो ।
गाई वर्ग (वर्ष) पूरा भई बाघ वर्ष सुरु भएको छ । यो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका रूपमा मनाउन शुरु गरिएको बताइन्छ । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।
शेर्पा समुदायमा ल्होसार तीन दिन मनाइन्छ । पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन गर्ने तथा आशीर्वाद लिने परम्परा छ । अग्ला डाँडामा ध्वजापताका फहराउँछन् । दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ । तेस्रो दिन उनीहरू बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्म पाल (भैरव, महाकाल आदि) को पूजा गर्छन् । ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।