images

परिणाममुखी काम गर्न नसकेपछि प्रचण्ड एमालेसँग सहकार्य गर्न आएः प्रदीप ज्ञवाली ​

काठमाडौं– सत्तारूढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले परिणाममुखी काम गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँग सहकार्य गर्न आएको बताएका छन् ।
उनले कांग्रेससँगको गठबन्धनले देशको पक्षमा कुनै परिणाममुखी काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि दाहाल एमालेसँगको सहकार्यका लागि तयार भएको बताएका हुन् । राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्न सक्ने पार्टी नेकपा एमाले मात्रै भएको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री दाहालले पनि सो कुरा बुझेरै एमालेसँग मिल्न आएको दाबी पनि गरेका छन् ।

फरक प्रसंगमा उपमहासचिव ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको दाबी गरेका छन्। नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका उनले कुनै पनि खालको बाह्य शक्तिको दौडधुपबिना नै नयाँ सत्ता समीकरण बनेको बताएका हुन्। उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतिको रुपमा रहेको समेत स्वीकार गरे । उनले बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु ठुलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उपमहासचिव ज्ञवालीले भने, ‘गएको १ वर्षमा देशले धेरै नै मूल्य चुकायो। पछिल्लो समय नेकपा माओवादी केन्द्रले, प्रधानमन्त्री स्वयंले त्यो बोध गर्नुभयो कि अब यो बाटोबाट अगाडि बढ्न सकिँदैन भनेपछि हामीले गरेका केही सचेतन प्रयासहरु र उहाँहरु भित्र पनि अब नेपाली कांग्रेससँगको सहकार्य सुविधाजनक छैन। अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ।’