images

आरती शाहका परिवार र सरकारबिच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं– आरती शाहका परिवार र गृह मन्त्रालयका अधिकारीहरू बिच ५ बुँदे सहमति भएको छ ।

सहमतिसँगै १० महिनादेखि आन्दोलनरत शाहका परिवार आन्दोलन फिर्ता लिन सहमत भएका छन् । २०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् । आरतीको हत्या भएको पीडित परिवारको आरोप छ । मङ्गलवारको छलफलपछि भएको सहमतिमा आरतीका परिवारको तर्फबाट उनकी आमा निर्मला देवी शाह, दाजु प्रेम शाह र मामा सन्तोष कुमार शाहले हस्ताक्षर गरेका छन् । गृह मन्त्रालयको तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरेका छन् । छलफलमा सांसद प्रभु शाह पनि सहभागी थिए । सर्वोच्च अदालतको आदेश अनुसार ९ पुसमा आरती शाहका श्रीमान् मोतीबाबुलाई प्रहरीले पक्राउ गरेको छ । मोतीबाबु अहिले थुनामा छन् । घटना भएपछि पीडितको जाहेरीका आधारमा प्रहरीले मोतीबाबु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरू उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए । उच्चको आदेश सर्वोच्चले उल्ट्याएको थियो ।