images

जिल्ला अस्पताल रामेछाप देशैभरका उत्कृष्ट अस्पतालमध्ये तेस्रो स्थानमा

रामेछाप–देशभरका १५ शय्या अस्पतालहरू मध्ये न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका सरकारी १५ शय्या अस्पतालमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको छ ।

पहिलो स्थानमा जिल्ला अस्पताल बैतडी र दोस्रोमा चौतारा अस्पताल सिन्धुपाल्चोक रहेका छन् । पहिलो दोस्रो र तेस्रो हुने अस्पतालले क्रमशः ९३, ९२ र ९१ प्रतिशत अङ्क प्राप्त गरेका हुन् ।

९३ प्रतिशत अङ्क पाएर पहिलो,चौतारा अस्पताल सिन्धुपाल्चोक ९२ प्रतिशत अङ्क पाएर दोस्रो र जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अङ्क पाएर तेस्रो हुन सफल भएको हो । विभिन्न सूचकका आधारमा मापन गरिँदा जिल्ला अस्पतालले ९१ प्रतिशत अङ्क पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अङ्क हो । एक वर्ष अघिको मापन अनुसार ८७ प्रतिशत अङ्क रहेको अस्पतालले विगतको तुलनामा आफ्नो सेवालाई सुधार गर्दै लगेको छ । अस्पतालले २०७७ मा ६८ प्रतिशत,२०७८ मा ५७ प्रतिशत,२०७९ मा ८७ प्रतिशत र २०८० मा ९१ प्रतिशत अङ्क पाएको हो ।

स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको आयोजना तथा जिल्ला अस्पताल रामेछापको सहकार्यमा भएको एक कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो । यसको मूल्याङ्कन स्वास्थ्य निर्देशनालयले गर्दछ । अनुगमनको क्रममा अस्पतालको भवन, फोहोर व्यवस्थापन,औषधिको व्यवस्थापन, बिरामी उपचार,सेवा प्रवाह लगायतका सूचकमा अस्पतालले राम्रो अङ्क पाएको अनुगमन टोलीका संयोजक एवं बकुलर रत्न नगर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन ज्ञवालीले बताए । जिल्ला अस्पताल रामेछापले पछिल्लो विगत केही वर्ष यता सेवा प्रवाह र गुणस्तरमा सुधार गरेकै कारण अस्पताल देशभरमै तेस्रो हुन सफल भएको वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डाक्टर दीपेन्द्र पाण्डेले बताए ।

जिल्ला अस्पतालले गरेका कामहरू को बारेमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले जानकारी गराए । उनले आफूले मेडिकल सुपरिटेन्डेन्ट जिम्मेवारी सम्हालेपछि अस्पतालमा धेरै परिवर्तन आएको बताए । “म एक युवा डाक्टर हुँ । म काम गर्नका लागी आएको हुँ । मलाई काम प्यारो छ । त्यसको फल स्वरूप आज हामी देशभरमै तेस्रो भयौँ ।” उनले भने । उनले न्यूनतम सेवा मापदण्डमा अझ सुधार गर्दै जाने बताए ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पताल रामेछापलाई नगरपालिकाले धेरै सहयोग गरेको बताए । उनले भने,“गर्भवती तथा सुत्केरी महिलाहरूका लागी नगरपालिकाले अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्था गरेको छ ।” नगरपालिकाले वार्षिक ३० लाख भन्दा बढी जिल्ला अस्पतालका लागी खर्च गरेको बताउँदै उनले धेरै भन्दा धेरै नागरिकले अस्पतालबाट सेवा लिनुपर्ने बताए । उनले आगामी दिनहरूमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले अस्पतालको विकासका लागी आफू सक्रिय भएर लागि परेको बताए । अहिले अस्पतालमा धेरै सेवाहरू थप भएको भन्दै उनले सेवाग्राहीहरूलाई गुणस्तरीय र भरपर्दो सेवा लिन जिल्ला अस्पतालमा आउन आग्रह गरे । १५ शैयाको अस्पताल ५० शय्यामा स्तर उन्नति भएको र अब छिट्टै कार्यान्वयनमा आउने बताउँदै अध्यक्ष पाख्रिनले अझै विभिन्न सेवा तथा सुविधाहरू थप गर्नका लागी मन्त्रालयमा पहल भइरहेको समेत बताए ।