images

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट थपिए ३ मन्त्री

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री यादवले शनिवार एमालेबाट तीन मन्त्री नियुक्त गरेका हुन् । एमालेका प्रदेशसभा सदस्यहरू सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । लेखीले गृह, सञ्चार तथा कानुन, सिंहले स्वास्थ्य तथा जनसङ्ख्या र जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी पाएका छन् । तीन मन्त्रीका साथै केशव रायलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको शपथ गराइएको छ । यसअघि मधेस सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रूपमा शपथ लिइसकेका छन् । नेपाली कांग्रेस–माओवादी केन्द्र–जसपा गठबन्धन भत्किएर नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए । त्यस्तै मधेस सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कुल ५ वटा मन्त्रालय खाली भएको थियो । जसमध्ये ४ वटा एमालेले पाएको छ भने एउटा माओवादी केन्द्रलाई दिने मुख्यमन्त्रीको तयारी छ ।