images

आयरल्यान्ड ‘ए’माथि नेपाल ६ विकेटले विजयी 

काठमाडौं– नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । त्रिवि खेलकुद मैदान कीर्तिपुरमा भएको पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टिममाथि नेपालले ६ विकेट जित हात पारेको हो। आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३७ रन जोडे । ३७ रनमा ३ विकेट गुमाएको नेपाललाई कुशलले सन्दीप जोरासँग मिलेर ५४ रनको साझेदारी गर्न सफल भए । सन्दीप ३६ रनमा बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहँदा आसिफ शेख १६, गुल्सन झा ४ र कप्तान रोहित पौडेल शून्य रनमा आउट भए । बलिङमा आयरल्यान्डका ग्यारेथ डेल्नीले २, बेन व्हाइट र टम म यसले एकाएक विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा जोडेको थियो ।
टी–२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड ‘ए’ टिमसँगको दोस्रो खेल मङ्गलवार खेल्ने भएको छ ।