images

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।

कांग्रेसले भने सभामुखसहित पेस गरेको दाबी असंवैधानिक रहेको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेको थियो । एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सदस्यले खगराजलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेश गरेका थिए ।

कांग्रेसले भने सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ । संसद्मा विश्वासको मत प्राप्त हुने नदेखेर मुख्यमन्त्री पाण्डेले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले २७ गते ३ बजेसम्मका लागि बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।