काठमाडौं । आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्यसचिव टङ्कलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सीको सबैभन्दा तल गैँडा र सगरमाथा छ ।
रङ्ग रातो, हल्का मधुरो र सेतोमा छ । बिचमा नेपाल लेखिएको छ । बिचको भागको रङ्ग निलो छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ । कलर अर्थात् घाँटीको भाग रातो रङ्गमा छ । दुवै भागतर्फ बाहुलामा नेपालको झन्डा छ । पछाडिको अधिकांश भाग निलो रङ्गमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लो भागमा सगरमाथा नै छ ।
आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ । जसमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्डस् पनि छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई टोली सुपर ८ मा पुग्नेछन् ।