images

राप्रपा पनि गृहमन्त्री रवि लामिछानेको विरोधमा, माग्यो राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाले मंगलबार काठमाडौंमा जनप्रदर्शन गरेको छ। सिंहदरबारतर्फ अघि बढ्न निर्देशन दिएसँगै राप्रपा कार्यकर्ताहरू अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि प्रदर्शनकारीले गृहमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

त्यसक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत मागेका छन् । उनले भने, ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौँ । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौँ । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ ।’ उनले भ्रष्टहरुलाई कति दिन हेलमेट लगाएर सुरक्षा दिनुहुन्छ भन्दै प्रहरीलाई प्रश्न समेत गरे ।

भृकुटीमण्डपबाट सुरु प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि निषेधित क्षेत्र भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका नेता-कार्यकर्ताहरू पक्राउ परेका छन्।

‘गृहमन्त्रीलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौँ’, प्रदर्शनलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीको राजीनामाको माग पनि थपेर लैजान्छौँ। आजबाट ४० बुँदेमा एक बुँदा थपियो।’