images

उपनिर्वाचन हुने जिल्लाका विद्यालयमा दुई दिन सार्वजनिक बिदा

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन हुने दुई जिल्लाका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा मङ्गलवार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई ६ बुँदे निर्देशन दिएको हो ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं दुई र बझाङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर एकको प्रदेश सभा निर्वाचन क्षेत्र नम्र एकमा उपनिर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्नका लागि आगामी वैशाख १३ देखि १५ गतेसम्म ३ दिनका लागि सरकारलाई सार्वजनिक बिदा दिन आयोगले निर्देशन दिएको हो ।

उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयको उपयोग गर्नुपर्ने भन्दै वैशाख १३ बिहीबार र १४ गते शुक्रवार दुई दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन् ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले आगामी वैशाख दुई देखि १५ गते उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्मका लागि उपनिर्वाचन हुने जिल्ला भित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

आयोगले निर्वाचन आचार संहिता, २०७९ बमोजिम नेपाल सरकार र प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा स्थानीय तहका पदाधिकारीलाई आयोगको अनुमति नलिई उपनिर्वाचनको प्रचारप्रसारमा नजान पनि निर्देशन दिएको छ । यदि अनुमति नलिएर प्रचार प्रसार कार्यमा संलग्न भएको पाइएमा आवश्यक जाँचबुझ गरी निर्वाचन आचार संहिता, २०७९ तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कारबाही गर्ने जनाएको छ ।

६ बुँदे निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस् :

Press_Release_2080_12_27