images

स्वर्णिमको आरोपः ललिता निवासको जग्गा हिनामिना देउवाको पालामा सुरु भएको हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरी व्यक्तिको नाममा गर्ने प्रकरणको सुरुवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको आरोप लगाएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार पत्रकारहरूसँग संक्षिप्त कुराकानीका क्रममा उनले देउवामाथि गम्भीर आरोप लगाएका हुन्।

‘ललिता निवासको जग्गा हिनामिना प्रकरणको सुरुवात अहिलेको विपक्षी दलका सभापति ९शेरबहादुर देउवा० गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो’, उनले भने।

ललिता निवासदेखि वाइडबडी जहाज खरिदसम्म भएको अनियमिततामा नेताहरूलाई जोगाइएको दाबी उनले गरे। आफूहरूले २०४७ सालयताका सबै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र जाँचबुझ आयोग माग गर्दै आएको पनि वाग्लेले बताएका छन्।

‘ललिता निवास काण्डदेखि वाइडबडीसम्म कस-कसलाई जोगाइएको छ। यो सारा कुराको छानबिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय जाँचबुझ आयोग बनाउन आह्वान गर्दछ’, उनले अगाडि भने।

कसैले लगाएको आरोपका भरमा कुनै नेता र पात्रलाई खुइल्याउने उद्देश्यले छानबिन माग गर्नु उचित नरहेको वाग्लेले बताए।