images

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू, उल्लङ्घन गर्नेलाई के हुन्छ कारबाही ?

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।

इलाम–२ मा हुने प्रतिनिधि सभा र बझाङ १ (क) मा हुने प्रदेश सभा उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको हो । आचारसंहिता इलाम र बझाङ जिल्लाभर नै लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

आचारसंहिता आजदेखि चुनाव सम्पन्न नभएसम्म लागू हुनेछ । आयोगका अनुसार स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा चुनाव सम्पन्न लागू गरिएको आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, सङ्घीय कार्यपालिका र सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय र सुरक्षाकर्मी तथा कर्मचारी, राजनीतिक दल तथा दलका भ्रातृ सङ्गठन र उम्मेदवार तथा सम्बन्धती व्यक्तिलगायतलाई लागू हुनेछ । आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्कालै कारबाही हुने आयोगले जनाएको छ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ ९क० बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको मंगलवार बसेको बैठकले आचारसंहिताको पालना गर्न जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ ।

आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय गरेको छ । यस्तै बैठकले वैशाख २ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपचुनाव हुने जिल्लाभित्र जाँड–रक्सी वितरण तथा प्रयोगलाई नियन्त्रण गर्नेरगराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै आयोगले उपनिर्वाचन हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह गरेको छ । मतदान हुने दिन १५ गते शनिवार पर्छ । उपनिर्वाचन अन्र्तगत इलाम–२ मा १९ जना तथा बझाङ–१ (क) मा ११ जनाको उम्मेदवारी कायम भएको छ ।