images

एमालेसँग १२ करोड रकम मौज्दात, अरु कति छ सम्पत्ति ?

काठमाडौं । नेकपा एमालेसँग १२ करोड ६९ लाख ७ हजार ७१८ रकम मौज्दात रहेको छ ।

शनिबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रीय लेखा आयोग अध्यक्ष पुष्प कँडेलले पेस गरेको प्रतिवेदनअनुसार २०८० असार मसान्तसम्ममा बैंक तथा नगद मौज्दात १२ करोड ६९ लाख ७ हजार ७१८ रुपैयाँ रहेको हो ।

त्यस्तै २०८० असार मसान्तसम्ममा स्थिर तथा अन्य सम्पत्ति (भवन निर्माणसमेत) ५ करोड ९२ लाख ५४ हजार ३८ रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैमध्ये विभिन्न कोषहरूमा देखिएको एकमुष्ट रकम ५ करोड १३ लाख २२ हजार ८४८ मध्ये कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख ३० हजार ५६७ र अन्य कोषतर्फ ३ करोड ७७ लाख ९२ हजार २८१ रुपैयाँ देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा कुल आम्दानी २२ करोड ८० लाख ४ हजार ६९१, कुल खर्च २१ करोड ६५ हजार ७७६ र खर्चभन्दा बढी आम्दानी १ करोड ७९ लाख ३८ हजार ९१५ रहेको उल्लेख छ ।

चालू आर्थिक वर्षमा आम्दानी र खर्च धेरै हुनुमा विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशन हुनु तथा त्यसको सन्दर्भमा सदस्यता शुल्क र लेबी उठ्नु हो, जसमा सदस्यता शुल्क ६ करोड ८५ लाख ६३७ र लेबी १२ करोड २६ लाख २५ हजार २०१ रुपैयाँ रहेका थिए । विधान अधिवेशन खर्च ४ करोड ६३ लाख ६५ हजार ९९५ र दशौं महाधिवेशन खर्च ११ करोड ७ लाख १० हजार ९८८ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।