images

एमाले प्रतिनिधि परिषद् बैठकः आज प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा शनिबार पेस भएका प्रतिवेदनमाथि आज समूहगत छलफल हुँदैछ ।

प्रतिवेदन पारित गरेर बैठक आजै सक्ने तालिका रहेको जनाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् ।

बैठकबाट वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना छलफलसहित पारित गराउने तयारी रहेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको छ ।

परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा एमालेले सम्मानलगायत विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।