images

सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय

काठमाडाैं– पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुराको व्यवस्था गरिएको हो । उनले सो अस्पताल काठमाडौं विश्वविद्यालयमा स्थापना गर्ने जानकारी दिँदै त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको बताउनु भयो । त्यसैगरी सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री पुनले भने, ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु । स्वास्थ्य बिमा कार्यक्रम बिस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिनेछ । स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बिमा बीचको दोहोरोपन हटाइनेछ । स्वास्थ्य बिमा कार्यक्रमको लागि रु. ७ अर्ब ५० करोड विनियोजन गरेको छु । विद्यमान जनसङ्ख्या नीति परिमार्जन गरी कार्यान्वयन गरिनेछ ।’

अर्थमन्त्री पुनले विद्यमान जनसङ्ख्या नीति परिमार्जन गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता समेत व्यक्त गरे ।