images

कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौँ लेखा परीक्षण प्रतिवेदन बुझाएको छ ।

कार्यालयले बुधवार प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो । महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले आर्थिक वर्ष २०७९–८० को उक्त प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको कोशी प्रदेशका महालेखापरीक्षक श्रीप्रसाद राईले उल्लेख गरे ।

लेखा परीक्षकको कार्यालयले प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको ४७ अर्ब ९३ करोड १ लाख १५ हजार र १८ समिति र अन्य संस्थाको ४ अर्ब ८४ करोड ७० लाख १९ हजारसमेत गरी ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजारको लेखा परीक्षण सम्पन्न गरेको थियो । प्रतिवेदनमा देखाइएको बेरुजुमध्ये १४ करोड ७१ लाख ४० हजार असुल गर्नुपर्ने, १ अर्ब ९ करोड ४० लाख ४७ हजार नियमित गर्नुपर्ने उल्लेख छ ।

नियमित गर्नुपर्ने बेरुजुमध्ये पनि ३४ करोड ५२ लाख १ हजार अनियमित भएको र ७४ करोड ८८ लाख ४६ हजार प्रमाण कागजात पेस नभएको तथा ७ करोड ६४ लाख २३ हजार पेस्की दिएको उल्लेख छ । आर्थिक वर्ष २०७९–८० मा देखिएको १ अर्ब ३१ करोड ७६ लाख १० हजारसहित अद्यावधिक बेरुजुको अङ्क भने ५ अर्ब ५८ करोड ४ लाख ७ हजार पुगेको बताइएको छ । अद्यावधिक बेरुजु गत वर्षभन्दा १२।४९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।