images

विश्वकपमा पहिलो पटक दक्षिण अफ्रिका सेमिफाइनलमा,भारत इङ्ल्याण्डसँग बदला लिने दाउमा

काठमाडौं–टी–२० विश्वकपमा दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको छ । नेपाली समय अनुसार बिहीबार बिहान भएको आइसिसी टी–२० विश्वकपको पहिलो

चरणको सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल पुगेको हो ।

नेपालसँग एक रनले जित हात पारेको दक्षिण अफ्रिकाले अन्ततः फाइनलसम्मको यात्रा तय गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८।५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो।

सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोडेको थियो । अफगानिस्तानले दिएको लक्ष्य विश्वकपकै सबैभन्दा लो स्कोर थियो । सोही अफ्रिकाले सोझै हात पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक नट आउट २९ रन बनाए । समूह चरण र सुपर ८ मा प्रभावशाली खेल प्रदर्शन गरेको अफगानिस्तान सेमिफाइनलबाट विश्वकपको यात्रा समाप्त भएको छ । दक्षिण अफ्रिकाले दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबिच बिहीबार राति प्रतिस्पर्धा हुँदै छ। दोस्रो सेमिफाइनल नेपाली समय अनुसार राति ८ः१५ बजे खेल सुरु हुनेछ ।

दोस्रो सेमिफाइनलको खेलमा भारत र इङ्गल्यान्ड आज साँझ आमनेसामने हुँदै छन् । भारतले विश्वकपमा सुरुदेखि अहिलेसम्म कुनै खेल हारेको छैन । भारत विश्वकपका सबैभन्दा मजबुत टोलीका रूपमा देखिएको छ । सेमिफाइनलमा दुवै टोलीलाई जित्नै पर्ने दबाब देखिएको छ । भारतीय टोली जारी विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ । अर्कोतर्फ समूह चरण र सुपर–८ मा इंग्ल्याण्डले एक–एक खेलमा हार बेहोरेको छ ।

२०२२ को टी–२० विश्वकपमा इंग्ल्यान्ड टोलीले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गरेको थियो । तसर्थ भारत विगतका गल्तीबाट पाठ सिकेर इंग्ल्याण्डलाई हराउन चाहन्छ ।

भारत र इंग्ल्याण्डबीचको खेलमा वर्षाको छाया परेको छ । मौसमविद्का अनुसार गुयानामा बिहानै पानी पर्ने सम्भावना ७० प्रतिशत रहेको छ । साथै, तापक्रम ३१ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ । यो खेलको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । तर, खेलको दिन वर्षा र हावाहुरीको सम्भावना छ । यस्तो अवस्थामा प्रतिस्पर्धा वर्षाको सिकार हुन सक्छ ।

टी–२० विश्वकप २०२४ मा भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएमा त्यसको फाइदा भारतीय टिमलाई हुनेछ । भारतले समूह चरण र सुपर–८ मा सबै खेल जितेको छ । सुपर ८ मा भारतले तीन वटै खेल जितेको छ ।

उसको खातामा ६ अङ्क छ भने इंग्ल्याण्डको खातामा ४ अङ्क छ । यस आधारमा भारत सजिलै फाइनलमा पुग्ने छ ।यो खेल गुयानाको प्रोभिडेन्स स्टेडियममा हुनेछ, जुन कम स्कोर र स्पिन मैत्री मैदान मानिन्छ । यसले फास्ट बलरलाई भन्दा स्पिनरहरूलाई धेरै मद्दत गर्दछ र ब्याट्सम्यानहरूलाई धेरै रन बनाउन धेरै सङ्घर्ष गर्नुपरेको देखिन्छ ।

नकआउट खेलमा भारतीय टोली फेरि एक पटक रोहित शर्माको नेतृत्वमा जोस बटलरको नेतृत्व रहेको इंग्ल्याण्डसँग भिड्नेछ । टी–२० क्रिकेटमा यी दुई टोलीले २३ पटक भिडेका छन् जसमा भारतको अग्रता छ । भारतले १२ खेल जितेको छ भने इङ्ल्याण्डले ११ खेलमा जितको स्वाद चाखेको छ ।