images

नेपालमा सय प्रजातिका जङ्गली च्याउ विषालु, सावधानी अपनाउन जरुरी

काठमाडौैं–पछिल्लो समय विषालु च्याउ खाएर मृत्यु हुने र बिरामी पर्ने घटना दिनप्रतिदिन बढिरहेका छन् । कस्तो च्याउ विषालु र कस्तो च्याउ खानयोग्य हो भनेर थाहा नपाउँदा कतिपय मानिसहरूले अकालमै ज्यान गुमाउने गरेका छन् । वर्षातको समयमा हरेक वर्ष विषालु च्याउ खाँदा ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ । साथै, सचेतनाको अभावले पनि मानिसहरू विषालु च्याउको सेवनबाट बिरामी पर्ने तथा समयमै उपचार नपाउँदा मृत्युसम्म हुने गरेको छ ।

च्याउमा प्रोटिन, भिटामिन र विभिन्न खनिज पदार्थ पाइन्छ र खाँदा स्वादिलो पनि हुन्छ । तर कतिपय च्याउ शत्रु साबित हुन पुग्छन् । हरेक वर्ष मुलुकमा मनसुनको सुरुवातसँगै जङ्गली च्याउको सेवनबाट बिरामी हुने र मृत्युसम्म भएका घटना सामुन्ने आउँछन् । नेपालमा हालसम्म पत्ता लागेका झन्डै १३ सय प्रजातिका च्याउमध्ये १०० प्रजाति विषालु छन् । तिनै १०० र अरू १२ सय च्याउ छुट्टाउन नसक्दा नै अकाल मृत्युको सिकार बनेका हुन्छन् मानिस । अमानिटा, लेपी ओटा, कोनोसाइबे, इनोसाइबे, प्याक्जिलस, क्लाइटोसाइबे, ग्यालेरिना, हाइफोलोमा, सिलोसाइबे, कर्टिनेरियस र गाइरोमित्रा आदि विषालु च्याउका प्रमुख जात हुन् । च्याउ फूल नफुल्ने वनस्पति अन्तर्गत पर्दछ । यो एक प्रकारको ढुसी हो । यी बिरुवामा हरितकण हुँदैन र प्रकाश संश्लेषण क्रिया गर्न सक्दैनन् । च्याउ प्रजाति मृत जीवी हुन् । यी मल, माटो, काठ तथा रुखमा उम्रिएका हुन्छन् । यी विशेष गरी ओसिलो तथा कुहेका रुखमा बढी पाइन्छ । च्याउ धेरै खालको हावापानीमा पाइन्छन् । च्याउ आफैँमा स्वादिलो तथा पौष्टिक खानाको रूपमा लिने गरिन्छ । भिटामिन तथा खनिजको स्रोत भएको खानाका रूपमा पनि च्याउका पारखीले लिने गरेका छन् । माछा मासु नखानेहरूका लागि च्याउ एक महत्त्वपूर्ण विकल्पको रूपमा उपयोग भएको पाइन्छ ।
कस्तो च्याउ नखाने ?

  • च्याउ भाँच्दा चोप निस्कियो भने वा छुँदा त्यसको रङमा परिवर्तन आयो भने त्यस्ता च्याउहरू खान हुँदैन ।
  •  बैजनी तथा गाढा रातो रङ्गका च्याउ प्राय विषालु हुने हुँदा त्यस्ता प्रकारका च्याउहरू खान हुँदैन ।
  • च्याउको माथि रहने छाता छाम्दा खस्रो एवम् तलमाथि उठेको देखिने च्याउ खान हुँदैन ।
  •  नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र गोबर, काठ, दाउरामा उम्रेका च्याउहरू पनि प्रायः विषालु हुने भएकाले खान हुँदैन ।
  •  विषालु च्याउको वरिपरि किराहरू नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरू देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् त्यस्ता च्याउ खान हुँदैन ।
  • च्याउलाई कुखुराको अण्डा एवम् दूधमा राख्दा केही समयपश्चात् दूध फाटेमा तथा अण्डा जमेमा त्यस्ता च्याउ विषालु भएको जान्नू र नखानू ।

विषालु च्याउ खाँदा देखिने लक्षण
विषालु च्याउ खाएपछि शरीरमा विभिन्न लक्षण देखिन्छन् । जस्तै,

  • आँखाबाट आँसु आउने,
  • मुखबाट ¥याल निस्कने,
  •  जीउ बाउँडिने, जिब्रो सुन्निने,
  •  बान्ता आउन खोज्ने वा आउने,
  •  पखाला चल्ने, घाँटीमा खसखस हुने र सुन्निने,
  •  पिसाब थोरै र कालो आउने,
  •  बेहोस हुने ।
    त्यसैले विषालु च्याउ खाएर समस्या हुनासाथ अस्पताल लैजानुपर्छ । सम्भव भएमा विषालु जङ्गली च्याउ खाएको थाहा हुने बित्तिकै बान्ता गराउने र बिरामीलाई जतिसक्दो छिटो स्वास्थ्य केन्द्र लैजानु नै उत्तम विकल्प हो ।

विषाक्त च्याउ खाँदा देखिने समस्या
च्याउको विषको असर च्याउको प्रकार, खाएको मात्रा, उमेर समूह, एवं सङ्कलन गरेको स्थान आदिमा भर पर्दछ । च्याउमा धेरै प्रकारका टक्सिनहरू पाइन्छन् जस्तै अमाटोटक्सिन, ओरेलिन, सिलीकोविन आदि । अहिलेसम्म च्याउले शरीरमा पार्ने प्रभावका आधारमा १४ प्रकारको विषाक्तताको पुष्टि भएको छ । विषालु च्याउ खाइसकेपछि यो हाम्रो शरीरको कलेजोमा पुग्दछ र शरीरको पित्तसँग मिलेर नयाँ किसिमको तत्त्वको निर्माण गर्दछ, जसले बिस्तारै हाम्रो मिर्गौलाको काम गर्ने क्षमतामा कमी गराउँदै जान्छ र अन्तमा कलेजो तथा मिर्गौला फेल हुन्छ र मानिसको मृत्यु हुन्छ । च्याउको विषाक्तताको असर सामान्यदेखि अत्यन्त जटिलसम्म छ अर्थात् ९५ प्रतिशतसम्म घातक अवस्था पनि हुन्छ । बालक तथा वृद्धहरूमा च्याउको विषाक्तताको असर छिटो तथा धेरै देखिन्छ भने वयस्क व्यक्तिमा अलि कमै हुन्छ । च्याउ खाएको ६ घण्टा देखि २४ घण्टा पछिसम्म पनि यसका असरहरू देखिन्छन्। कतिपय बिरामीले पेटको तल्लो भाग दुखेको, छटपटी भएको, आँखा वरिपरि अँध्यारो भएको महसुस गर्छन् भने कतिलाई पखाला लाग्ने र बान्ता हुने जस्ता लक्षण पनि देखिन्छन् ।

विषालु च्याउ खाएका बिरामीको उपचार

  •  विषालु च्याउमा हुने विष हटाउने कुनै विषनाशक औषधि हालसम्म नभएकोले विषको असर शरीरमा फैलिन नदिनु नै उपचारको उत्तम उपाय हो ।
  •  होसमा भएको बिरामीलाई विषको मात्रा निकाल्न बान्ता गराउने, श्वासप्रश्वास गराउने जस्ता प्राथमिक उपचार गर्न सकिन्छ ।
  •  प्राथमिक उपचारबाट बिरामीको अवस्था सुधार नभएमा सकेसम्म छिटो अस्पतालमा लैजानु पर्दछ ।
  •  विषको असर शरीरमा फैलिन नदिन बिरामीलाई अस्पतालमा लैजानु नै उत्तम उपाय हो ।
  •  शरीरबाट खेर गएको पानीको परिपूर्ति छिटो गर्नु पर्दछ ।

अपनाउनुपर्ने सावधानीहरू

  •  सकेसम्म आफूले नचिनेको जङ्गली च्याउ कुनै पनि अवस्थामा खान हुँदैन । खान हुने च्याउलाई समेत खुला रूपमा भण्डारण गर्नुपर्छ ।
  •  कहिलेकाहीँ च्याउ आफैँमा विषाक्त नभए पनि सङ्कलन र भण्डारणको कारणले पनि विषाक्त बन्ने हुँदा च्याउलाई प्लास्टिक वा स्टिलको भाँडामा गुम्साएर राख्न हुँदैन ।
  •  आफूले राम्रोसँग चिनेर विषाक्त छैन भन्ने पर्याप्त आधार भएपछि मात्र उक्त च्याउलाई खाने निर्णयमा पुग्नुपर्दछ ।
  •  खाने च्याउलाई समेत सङ्कलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम र टिनको बाकसहरू प्रयोग गर्न हुँदै ।
  •  खान मिल्ने फरक–फरक प्रजातिका च्याउहरू समेतसँगै मिसाएर पकाउन हुँदैन । च्याउ पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउनुपर्छ । उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश हुँदैन, त्यसैले च्याउ खाँदा विशेष सावधानी अपनाउनु पर्दछ ।
  • विषालु च्याउको विषयमा थप अनुसन्धान गर्दै नागरिकमा व्यापक सचेतना फैलाउन जरुरी छ । विभिन्न निकायबाट च्याउको व्यावसायिक खेतीका बारेमा दिइने तालिमसँगै च्याउको विषाक्तताको बारेमा पनि बुझाउनु अति आवश्यक छ । यसबारेमा सबैले बेलैमा सोचेर विषालु च्याउ सेवनका कारण हुने मृत्यु र बिरामी दर घटाउनुपर्छ ।