images

ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ब्रेक सु र इलेकट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

सीआईबीले गरेको थप अनुसन्धानका क्रममा ३ हजार १९४ दशमलव ६६ केजी सुन तस्करी भएको पाइएको हो । यसमध्ये ३६२ दशमलव ७७ केजी ब्रेक सुमा लुकाएर र बाँकी २ हजार ८३१ दशमलव ८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेकट्रोनिक सामानमा लुकाएर तस्करी गरेको पाइएको हो ।

यो समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको सीआईबीले जनाएको छ । २ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो । अनुसन्धानका क्रममा टोखा लगायतका स्थानमा सुन गाल्ने मेसिन भेटिएको थियो ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ । जसमध्ये २० जना पक्राउ परेका छन् भने २६ जना फरार छन् । पक्राउ पर्नेमा चिनियाँ र भारतीय व्यक्ति संलग्न रहेको सीआईबीले जनाएको छ । उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ७६ करोड बिगो दाबी गरिएको छ ।