images

असार मसान्तसम्म भुक्तानी नभए सङ्घर्षमा उत्रिने निर्माण व्यवसायी महासङ्घको चेतावनी

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारले गर्नुपर्ने ६० अर्ब भुक्तानी नगर्दा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भएको भन्दै आक्रोशित भएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारले आर्थिक वर्षको असार मसान्तसम्म ६० अर्ब भुक्तानी नगर्दा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भएको दाबी गरेको हो । महासङ्घले सरकारले विगत दुई वर्षदेखि निर्माण व्यवसायीहरूले पाउनु पर्ने भुक्तानी नगरेको बताएको छ । महासङ्घले गत आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/०८१ का आयोजना निर्माण कार्य सम्पन्न गरे बापतको ६० अर्ब रुपैयाँ सरकारले भुक्तानी गर्न बाँकी रहेको जनकारी दिइएको हो ।

महासङ्घका महासचिव रोशन दाहालले असार मसान्त भइसक्दासमेत अर्थ मन्त्रालयले रकमान्तर र भुक्तानी फुकुवा नगरेका कारण ठुलो मात्राको रकम अझै निकासा हुन नसकेको बताए । उनले सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन जारी भएपश्चात् म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब रुपैयाँ र चालु आयोजनाहरूको निर्माण कार्यहरूमा बजेट अपुग तथा निकास नभएको कारण लामो समय अघिदेखि बाँकी भएको करिब २० अर्ब रुपैयाँ गरी व्यवसायीहरूको करिब ६० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताए ।

उनले विकासे मन्त्रालयबाट करिब ३५ अर्ब मात्र रकमान्तर माग भए पनि सोमध्ये करिब १५ अर्ब मात्र रकमान्तर भएको बताए । उनले सरकारले गरेको १५ अर्ब रकम रकमान्तर भएकोमध्ये पनि एक अर्ब १४ करोड इन्ट्री गर्न नभ्याइएको स्थिति रहेको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरूको पटक–पटकको प्रतिबद्धता विपरीत असार मसान्तमा समेत निर्माण व्यवसायीहरूको अर्बौँ रकम भुक्तानी नभएको गुनासो गरे ।

उनले रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति रहेको बताए । उनले बैङ्कको किस्ता र अन्य कर तिर्न नसकी हजारौँ व्यवसायीहरू प्रताडित भएको बताए । उनले निर्माण क्षेत्रमा आश्रित उद्योग तथा परिवारमा समेत ठुलो मनोवैज्ञानिक दबाब परेको बताए । उनले आर्थिक वर्षको अन्त्यमा आएर अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ दिएका कारण हजारौँ व्यवसायीहरू टाट पल्टिने अवस्थामा पुगेको बताए ।

महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले असार मसान्तसम्म पनि आफूहरूको भुक्तानी नभए निर्णायक सङ्घर्ष गर्ने चेतावनी दिए । उनले व्यवसायीहरूको अर्बौँ रकम भुक्तानी हुन बाँकी रहेकाले रकमान्तर गरी अहिले सम्मको बाँकी रकम असार मसान्तभित्र भुक्तानी गर्न सरकारसँग माग गरे । उनले आफूहरूको समस्या समाधान नभए निर्णायक सङ्घर्ष गर्न बाध्य हुने बताए । उनले भुक्तानीको विकराल समस्या भोग्न बाध्य भई निर्माण व्यवसायीहरूले केही स्थानीय निकाय, प्रदेश र सङ्घका विकासे कार्यालयहरूमा तालाबन्दी सुरु गरेको बताए ।

उनले असार मसान्तभित्र सबै भुक्तानी निकासा फुकुवाको व्यवस्थाका लागि सम्बन्धित कार्यालयलाई निर्देशन गरिदिन सरकारसँग माग गरे। उनले व्यवसायीहरूको रकम भुक्तान नभएसम्म नयाँ टेन्डरहरू ननिकाल्न र बजेट सुनिश्चितता नभएका, भुक्तानी लगाएका समस्याले पूरा हुन नसकेका ठेक्काहरू कानुन बमोजिम सुबिस्ताका आधारमा अन्त्य गरी फरफारख गर्न पनि आग्रह गरे । उनले अब बन्ने सरकारबाट समेत निर्माण उद्योगको समस्या समाधानको दिशामा ठोस पहल गर्न माग गरे ।