images

नयाँ सरकारप्रति पुँजी बजार सकारात्मकः नेप्से परिसूचक ५२.९७ अङ्कले वृद्धि

काठमाडौं–नयाँ सरकार गठन प्रक्रिया भएसँगै नेप्से परिसूचक ५२.९७ अङ्कले बढेको छ ।

पुष्पकमल दाहाल नेतृत्वको १८ महिने सरकार ढलेपछिको भएको शेयर कारोबारमा उत्साहजनक देखिएको छ । नयाँ अर्थमन्त्री एमालेका उपाध्यक्ष विष्णु पौडेल बन्ने खबरसँगै शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार नेप्से परिसूचक ५२.९७ अङ्क बढेर २२५७.५९ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इन्डेक्स ९.५९ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स ३.८९ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.४८ अङ्कले बढेको छ ।

आइतबार कारोबारमा आएका ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत बिहीबार ७ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको थियो । अघिल्लो कारोबार भन्दा आइतबार कारोबारमा वृद्धि भएको छ ।

नेप्सेका उपसमूहकै शेयर बढेको छ । जसमा बैङ्किङ उपसमूहको परिसूचक सबैभन्दा बढी ३.७४ प्रतिशत बढेको छ । त्यस्तै,जलविद्युत उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बिमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। विकास बैङ्क, वित्त, होटेल, लगानी, म्युचुअल फन्ड, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

आइतबार भएको कारोबारमा रिडी पावर र माण्डु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,जानकी फाइनान्स र हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । तर यता बलेफी हाइड्रोपावरको शेयर मूल्य भने ५.२ प्रतिशत घटेको छ । आइतबारको कारोबारमा जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।