images

आ.व. २०८०/०८१ मा सर्लाही भन्सारबाट ४८ करोड राजस्व सङ्कलन

सर्लाही–जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०८०/०८१ मा ४८ करोड ६९ लाख ८४ हजार ७ सय २४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।उक्त आ।व। मा कार्यालयले ६७ करोड ३९ लाख ९३ हजार राजस्व उठाउने लक्ष्य लिएको थियो।

जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख उषा पोखरेलका अनुसार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को कुल लक्ष्यको ५३ प्रतिशत बराबर प्रगति गरेको हो ।

खुला बोर्डर ,चोरी निकासी तथा सरकारले कपडामा लगाएको भ्याटका कारण कपडाको आयातमा आएको कमिका कारण राजस्व सङ्कलनमा अपेक्षा गरे अनुसारको प्रगति हासिल गर्न नपाएको कार्यालय प्रमुख पोखरेले बताइन् । उनले पछिल्लो समय खाने तेलको निर्यात पनि घटेकोले राजश्वमा कमी आएको जानकारी गराइन्।

जिल्लामा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयसहित ८ वटा भन्सार कार्यालय रहेका भए पनि जिल्लाका दुई छोटी भन्सार कार्यालय मात्र सञ्चालन हुनु पनि अपेक्षा गरे अनुसारको प्रगति नहुनुको मुख्य कारण भएको कार्यालय प्रमुख पोखरेलको भनाइ छ ।

कार्यालयले निर्यात सेवा शुल्कबाट १४ लाख ७७ हजार ६ सय २० रुपैयाँ र बाँकी सबै आयातबाट राजस्व सङ्कलन गरेको सूचना अधिकारी डम्बर बहादुर थापाले जनाएको छ।