images

निर्माण व्यवसायीको भुक्तानी चाँडै गर्छौंः अर्थमन्त्री पौडेल

काठमाडौँ–उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी चाँडै हुने बताएका छन् ।

बुधवार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी दिएन भन्ने गुनासो आए पनि अब लामो समय नरहने प्रस्ट पारे ।

उनले भने,‘निर्माण व्यवसायीहरूले भुक्तानी पाएनन् भन्ने विषय धेरै दिन गुनासो गर्नुपर्दैन राज्यले टेन्डर गर्ने,निर्माण व्यवसायीहरूले निर्माण गर्ने,काम सम्पन्न गर्ने,यदि काम राम्रो र सम्पन्न भएको छैन । अन्य समस्या छन् त्यो अलग विषय भयो । काम सम्पन्न भएको छ भुक्तानी पाउनुपर्छ । तर भुक्तानी रोकिएको छ भने निर्माण व्यवसायीहरूको त्यस्तो भुक्तानी रोकिँदैन ।

अर्थमन्त्री पौडेलले सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी भएन भनेर गुनासो गरिरहने अवस्था नआउने दाबी गरे । बीचमा केही गुनासो गर्ने अवस्था रहेको बताउँदै उनले सरकार त्यस प्रति संवेदनशील रहेको बताए । फरक प्रसङ्गमा बोल्दै उनले डेडिकेटेड र ट्रङ्क लाइन विवाद कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीले नै सरकारको दृष्टिकोण राखी सकेको बताउँदै उक्त विषयलाई त्रास र आतङ्कका रूपमा नलिन पनि आग्रह गरे ।

उनले अहिले निजी क्षेत्र लगानी बढाउने भन्दा पनि व्यवसाय कसरी टिकाइराख्ने भन्ने चिन्ताबाट ग्रसित देखिएको भन्दै त्यसलाई सहजीकरण गर्न सरकार तयार रहेको दाबी गरे ।