images

काठमाडौंमा भेटियो पोलियो भाइरस, विशेष खोप अभियान सुरु

काठमाडौं । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूनामा पोलियो भाइरस भेटिएपछि उपत्यकाका तीनै जिल्लामा विषेश पोलियो खोप अभियान सुरु गरेको छ ।

त्यस्तै हैजाका बिरामी पनि भेटिएका छन्, भने डेंगु संक्रिमितको ग्राफ पनि बढ्दो क्रममा छ । मनसुनजन्य रोगका संक्रमण देखिन थालेपछि सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विज्ञहरुले पनि मनसुनजन्य सरुवा रोग तीब्र गतीमा फैलनसक्ने भन्दै सतर्क रहन आग्रह गरेक छन् ।

पोलियो मुक्त देश घोषणा भएको १४ वर्षपछि काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस भेटियो । यसबाट झस्केको सरकारले काठमाडौं उपत्यकाका तीनै जिल्लामा विशेष पोलियो खोप अभियान शुरु गरिउको छ । त्यस्तै काठमाडौं उपत्यकामा हैजाका बिरामी पनि भेटिएका छन् । वर्षातको मौसम सुरु भएसँगै दूषित पानीका कारण पछिल्ला दिन टेकु अस्पतालमा झाडापखलाका बिरामी पनि बढ्दै गएका छन ।

काठमाडौँमा यसअघि सन् २०२२ मा हैजाले प्रकोपकै रूप लिएको थियो । घना बस्ती भएको काठमाडौं उपत्यकामा पोलियो भाइरस र हैजाका बिरामी भेटिनुले जनस्वाथ्यमा ठूलो चुनौती थपिएको छ । पोलियो र हैजाको मुख्य कारण भनेको दूषित खाना र पानीको नै हो । त्यस्तै डेंगु संक्रमणको ग्राफ पनि बढ्दै गएको छ । हालसम्म ७३ जिल्लामा डेंगुको संक्रमण फैलिसकेको सरकारी तथ्यांक छ । मनसुनको समयमा दुषित पानी र फोहोरमैलाका कारण विभिन्न रोगको संक्रमणको जोखिम बढी हुने विज्ञहरु बताउँछन् ।

खासगरी मनुसुनको समयमा हैजा, टाइफाइड, इकोलाई, लेप्टोस्पाइरोसिस, हेपाटाइटिस, छालारोग, झाडापखाला तथा ज्वरो जस्ता समस्याको बढी जोखिम हुन्छ । सरकारले मनसुनी रोगसँग जुध्नका लागि तयारी अवस्थामा रहेको दाबी गरेपनि ढुक्क हुने अवस्था भने छैन ।

हरेक वर्ष मनसुनको समयमा अस्पतालहरुमा बिरामीको चाप बढ्ने गरेको छ । यसपटक पनि विभिन्न रोगको संक्रमण देखिन थालिसकेको छ । मनसुनजन्य रोगलाई बेवास्ता गर्दा यसले ठूलो रुप लिनसक्ने सरुवा रोग बिशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ ।

मनसुनको समयमा फैलनसक्ने विभिन्न रोगको संक्रमणबाट जोगिन सरकारको मुख ताकेर मात्रै हुँदैन । यसका लागि नागरिक आफैं पनि सचेत हुन जरुरी छ । सरसफइमा ध्यान दिने हो भने यस्ता मनसुनजन्य रोगबाट धेरै हदसम्म जोगिन सकिन्छ ।