images

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम जसरी पनि असुली गर्ने अडानमा कुलमान 

काठमाडौं । उद्योगहरुले तिर्न बाँकी डेडिकेटेड तथा ट्रंक लाईन वक्यौता रकम जसरी पनि असुली गर्ने अडानमा छन्, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ । गत मंगलबार मात्रै बक्यौता रकम बुझाउन तीन महिनाको समय दिएर बक्यौता नतिर्ने उद्योगमा काटिएको लाइन जडान गरिएको थियो । यता, बिजुली जडान गरिएको केही समय मै कुलमान वक्यौता रकम जसरी पनि असुल गर्ने अभिव्यक्ति दिन थालेका छन् ।

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा रहेको डेडिकेटेड तथा टं«क लाईन वक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई भन्दा पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राखेका हुन् । शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विना बिल सो लाइनको वक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाइ सत्य नभएको दाबी पनि गरे ।

लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत १३ रुपैयाँ हुँदा पनि उद्योगका लागि साढे ८ प्रतिशत मात्रै मूल्य तोकिएका उनको भनाइ छ । प्रवन्ध निर्देशक घिसिङले आफूले प्राधिकरणको नेतृत्व लिएपछि हालसम्म करिव २५ प्रतिशत विद्युत महशुल घटाएको र करिव २५ लाख सर्वसाधरणलाई निःशुल्क विद्युत उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गरे ।

यता, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत प्राधिकरणले सरकारसँग निजी कम्पनी जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् । उनले सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्ने जस्तो गैरजिम्मेवार निर्णय गरिएको भन्दै प्राधिकरणको नेतृत्वप्रति असन्तुष्टि व्यक्त पोखे ।

यसअघि प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको बिजुली उपभोग गरेर बक्यौता नबुझाएका ६ वटा उद्योगमा काटिएको बिजुली गत मंगलबार मात्रै जोडेको थियो । उद्योगहरूलाई बक्यौता रकम बुझाउन प्राधिकरणले तीन महिनाको समय दिएको छ ।