images

त्रिविको चरम लापरबाही: संस्कृत काव्य शास्त्रको प्रश्न पत्र हुबहु गत वर्ष कै !

काठमाडौं । प्रश्नपत्र निर्माणमा होस् वा उत्तरपुस्तीका परिक्षणमा त्रिभुवन विश्वविद्यालयले बेला–बेला चरम लापरवाही गर्दै आएको छ । एक पटकको गल्तीबाट पाठ सिक्नुपर्ने त्रिवि बारम्बार एकै किसिमका गल्ती दोह्याराउँदै आएको छ । आफ्नै कमी कमजोरीका कारण त्रिवि बदनाम हुँदै गएको छ भने विश्वविद्यालयको साख पनि गुम्दै गएको छ । यता, गत बुधबार स्नातकोत्तर प्रथम वर्षको परिक्षाको प्रश्नपत्र हुबहु गत वर्षको जस्तै आएपछि त्रिविले कतिसम्मको लापरबाही गर्छ भन्ने विषय थप छर्लङ्ग भएको छ ।

त्रिभुवन विश्वविद्यालय मुलुककै जेठो विश्वविद्यालय हो तर, विभिन्न कमीकमजोरी र लापरवाहीले टियु सँधै चर्चा र विवादमा तानिने गरेको छ । विश्वविद्यायलमा विकृतिमा चाङ छन्, तर पनि सम्बन्धित निकाय मौन देखिएका छन् । कहिले समयमा नजिता प्रकाशित नभएर विद्यार्थी हैरान हुन्छन् भने कहिले परिक्षा नै अन्यौल हुँदा विद्यार्थीले सास्ती खेप्दै आएका छन् ।

यसैबीच, त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि प्रश्नपत्र दोहोरिएको पाइएको छ । मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र अघिल्लो वर्षको जस्तै हुबहु दोहोरिएको हो । गत वर्षको प्रश्नपत्रमा उल्लेख भएका सबै प्रश्नपत्र यस वर्ष पनि हुबहु राखिएको पाइएको छ ।

त्रिवि नेपाली केन्द्रीय विभागले दुई सेट प्रश्नपत्र बनाएर डिन कार्यालयलाई पठाए पनि डिन कार्यालयबाट पुरानै प्रश्न प्रिन्ट भएको बताइएको छ । मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालयको लापरवाहीले सीमा नाघेको छ । एकपछि अर्को लापरवाहीका कारण त्रिभुवन विश्वविद्यालयको साख खस्किँदो छ । कहिले हुबहु प्रश्नपत्र त कहिले एउटा विषयको परीक्षामा अर्कै विषयको प्रश्नपत्रका कारण विश्वविद्यालयको नकारात्मक टिप्पणी हुँदै आएको छ । शिक्षाविद् विद्यानाथ कोइरालाकाअनुसार टियुको सुधारका लागि पढाइ कला र कापी जाँच्ने कला व्यापकरुपमा बदल्नु जरुरी छ ।

यस्ता लापरवाहीले त्रिभुवन विश्वविद्यालयको राम्रो इमेजलाई धुलिसात गर्ने काम गरिरहेका छन् । प्रश्नपत्र निर्माण, उत्तरपुस्तीका जाँच, कार्यतालिका प्रकाशित लगायतका विषयमा त्रिभुवन विश्वविद्यालय चुक्दै आएको छ । सबैभन्दा उदेक लाग्दो कुरा त के छ भने विश्वविद्यालयमा यस्ता गल्ती गर्नेलाई कुनै पनि कारवाही गरिदैँन, बरु राजनीतिको आडमा उनीहरुलाई जोगाउने काम गरिन्छ । विश्व विद्यालयमा बन्ने छानवीन समितिमा पनि प्रत्यक्ष राजनीतिक हस्तक्षेप हुने गरेको आरोप लाग्दै आएको छ ।

विद्यार्थीको भविष्य उज्ज्वल पार्ने विश्व विद्यालय विकृति र विसंगतिले थलिँदै गएको छ । शिक्षाको पवित्र मन्दिर विश्वविद्यालय प्रदुषित राजनीतिको शिकार बन्दै गएको छ । पछिल्लो समय त्रिविको शैक्षिक स्तर मात्रै खस्किएको छैन बरु अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र सम्बन्धित निकायको गैरजिम्मेवारीका कारण विश्वविद्यालय लथालिंग अवस्थामा छ । त्यसैले विश्वविद्यालयको गिर्दो खास जोगाउन सरोकारवाला निकायले गम्भीर हुन जरुरी छ ।