images

मौद्रिक नीतिले सेयर बजारलाई थप उचाइमा पुर्‍याउने अपेक्षा

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि सेयर बजारमा चमक देखिएको छ । यो साता पनि सेयर बजार परिसूचक नेप्से करिब ६ प्रतिशतले बढेको छ । नेप्से सँगै दैनिक औसत कारोबार रकम पनि बढेको छ ।

शुक्रवार आएको मौद्रिक नीतिले सेयर बजारलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । राष्ट्र बैङ्कले तुलनात्मक रूपमा निकै लचिलो र खुकुलो मौद्रिक नीति ल्याएपछि त्यसले सेयर बजार र निर्माण क्षेत्र चलायमान हुने आकलन छ । तथापि लगानीकर्ताहरूले भने मौद्रिक नीतिले आंशिक माग मात्र सम्बोधन गरेको टिप्पणी गरेका छन् ।

गत साता २४ सय २४ दशमलव ३२ विन्दुमा बन्द भएको नेप्से, यस साता ५ दशमलव ९३ प्रतिशत अर्थात् १४३ दशमलव ८१ अङ्क बढेर २५ सय ६८ दशमलव १३ विन्दुमा पुगेको छ । ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढ्दा बुधवार भने २७ अङ्कको करेक्सन भएको थियो । नेप्सेसँगै यस साता दैनिक औसत कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औसतमा १० अर्ब ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता औसतमा १४ अर्ब ७२ करोडको शेयर किनबेच भएको छ ।

गत साताको तुलनामा यो ३८ दशमलव ६४ प्रतिशत बढी हो । त्यस्तै, दैनिक औसत कारोबार सङ्ख्या ३३ दशमलव १२ प्रतिशत बढेको छ भने दैनिक औसत शेयर सङ्ख्या ३५ दशमलव ९२ प्रतिशत बढेको छ । नेप्सेको कुल बजार पुँजीकरण पनि करिब ५ प्रतिशत बढेर ४० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । निरन्तर उकालो यात्रामा रहेको नेप्सेले राष्ट्र बैङ्कले लिएको खुकुलो नीतिका कारण थप उचाइ लिने अपेक्षा गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको मौद्रिक नीतिले ब्याजदर थप घटाउने र कर्जा प्रवाह बढाउने देखिएको छ । नीतिगत दर र बैङ्क दर थप घट्ने भएको छ । सेयर बजारमा पनि संस्थागत लगानीकर्तालाई लगाइएको २० करोडको क्याप हटाइएकाले राहत पाउने देखिएको छ । बजार विस्तार र विकासमा संस्थागत लगानीकर्ताकै विशेष भूमिका हुने गर्छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलता थुप्रिएको, ब्याजदर सस्तो भएको अवस्थामा कर्जा विस्तार गर्ने नीति आएको छ । बैङ्कहरूको लगानी विस्तारमा यसले जोड दिएको छ । तथापि शेयर लगानीकर्ताहरूले भने मौद्रिक नीतिले सेयर बजारका अपेक्षालाई आंशिक मात्रै सम्बोधन गरेको प्रतिक्रिया दिएका छन् । संस्थागत लगानीकर्तालाई सहज बनाइए पनि व्यक्तिगत कर्जाका सवालमा १५ करोडको सीमा यथावत् रह्यो । मौद्रिक नीतिले मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ ।

राष्ट्र बैङ्कले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई मार्जिन ट्रेडिङका लागि सहमति प्रदान गरेको छ । तर मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको राष्ट्र बैङ्कले नै स्वीकारेको छ । त्यस्तै सेयर लगानीकर्ताले मौद्रिक नीतिबाट ठुलो सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतलाई झारेर १०० मा कायम हुने अपेक्षा गरेका थिए । हाल ५० लाखमाथिको सेयर कर्जाको जोखिम भार १२५ प्रतिशत छ भने ५० लाखमुनिको सेयर कर्जा जोखिम भार १०० प्रतिशत नै छ । बैङ्क तथा वित्तीय संस्थाहरूको पुँजी कोषमा परेको दबाबलाई कम गर्न मौद्रिक नीतिले प्रयास गरेको छ ।

त्यस्तै, कर्जाको नोक्सानी व्यवस्थासम्बन्धी नीतिगत व्यवस्थालाई खुकुलो बनाउँदै बैङ्कको नाफा बढाउने प्रबन्ध पनि गरिदिएको छ । समग्रमा मौद्रिक नीतिलाई व्यवसायी र सेयर लगानीकर्ताहरूले सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । यसले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।