images

जीबी राईसहित सहकारी ठगेर विदेश भागेका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

काठमाडौं । सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देशबाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राई लगायतलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो । सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ ।

यस्तै सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ । शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय पनि गरेको छ । समितिले कारागारमा भएकाहरुसँग सोधपुछ गर्न आवश्यक जनशक्ति र समय प्रबन्ध गर्न गृहमन्त्री र सचिवलाई भनेको छ ।