काठमाडौं । भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिवार नेपाल आइपुगेको छ ।
चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गरे । पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार के सुके हुन्डालाई टिममा भित्राएको छ ।
हुन्डाले तीन पटक विश्व कप खेलिसकेका छन् । उनी एसियाकै स्टार खेलाडी हुन् । हुन्डाको आगमनसँगै टिम मजबुत बनेको बुझाई छ ।
हुन्डा मात्र होइन यो पटक पारोले कुल १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ । गत वर्ष पनि पारो एफसी कप छनौट खेल्न नेपाल आएको थियो । त्यतिखेर मच्छिन्द्र क्लबसँग पराजित भएको थियो ।