images

यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा देशको मूल्यवृद्धि दर अघिल्लो आर्थिक बर्षको तुलनामा झन्डै २ प्रतिशतले घटेको छ । त्यस्तै गत आर्थिक वर्षमा शोधनान्तर बचत ५ खर्ब नाघेको छ । एक आर्थिक वर्षमा अहिलेसम्मकै उच्च शोधनान्तर बचत हुँदा चालु खाता बचत पनि सवा २ खर्ब नाघेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा देशको मूल्यवृद्धि दर ५.४४ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार यस्तो मूल्यवृद्धि अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २.३ प्रतिशत विन्दुले घटेको हो । अघिल्लो आर्थिक वर्षमा मूल्यवृद्धि ७.७४ प्रतिशत थियो । त्यस्तै असार महिनाको मूल्यवृद्धि औसतभन्दा न्युन देखिन्छ । गत असारमा उपभोक्ता मूल्यवृद्धि ३.५७ प्रतिशत मात्रै पुगेको छ । जबकि २०८० असारमा मूल्यवृद्धिदर ७.४४ प्रतिशत थियो ।

गत आर्थिक वर्षमा शोधनान्तर बचत ५ खर्ब नाघेको छ । एक आर्थिक वर्षमा अहिलेसम्मकै उच्च शोधनान्तर बचत हुँदा चालु खाता बचत पनि सवा २ खर्ब नघेको छ । राष्ट्र बैंकको प्रकाशित तथ्यांक अनुसार गत आर्थिक वर्षको भुक्तानी सन्तुलत ५ खर्ब २ अर्ब ४९ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक व्यापार करिब स्थिर जस्तै हुँदा रेमिट्यान्स र सेवा क्षेत्रमा देखिएको सुधारले शोधनान्तर बचत सँगै चालु खाता बचत पनि उच्च दरमा बढेको हो । आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७९/८० मा २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो । गत आर्थिक वर्षमा अझै बढेको हो । गत आसारमा अमेरिकी डलरमा शोधनान्तर बचत ३ अर्ब ७७ करोड छ ।

आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा शोधनान्तर स्थिति बचतमा नै भएपनि चालु खाता घाटामा थियो । उक्त वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो । खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने केही सुधार देखिएको छ । गत आर्थिक वर्षमो खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो लगानी ६ अर्ब १७ करोड मात्रै थियो ।

एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । प्रतिवेदन अनुसार कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो । यो २०८० असार मसान्तको तुलनामा ३२.६ प्रतिशतले धेरै हो । २०८० असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड भएको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ ।

त्यस्तै नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको छ । वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको हो । अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रहेको थियो ।