images

१० महिनापछि टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।

चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरूले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकले लिखित पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएको छ । र, प्रतिबन्ध हटाउन माग गर्दै आएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक प्रतिबन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । अहिले सामाजिक सञ्जालमा कुनै किसिमको प्रतिबन्ध लगाउन नहुने भन्दै उनले सञ्चार मन्त्रालय र आफ्नो टिमलाई टिकटकको प्रतिविद्धताबारे छलफल गरेर आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा ल्याउन भनेको स्रोतको दाबी छ ।

तत्काल फुकुवा खुलाउने गरी तयारी थाल्न निर्देशन पाएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दै छन् । सञ्चार मन्त्रालयले निर्णय गरेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेपछि त्यसबारे आवश्यक कारबाही अघि बढ्नेछ ।