images

३० वर्षे सेवा अवधि हटाउन २१ प्रहरी अधिकारीद्वारा सर्वोच्चमा रिट

काठमाडौं । नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै २१ प्रहरी अधिकारीले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

बुधवार प्रहरीका वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

नेपाल प्रहरीमा ९० जना र सशस्त्र प्रहरीमा १८ जना गरी १०८ जना प्रहरी अधिकारीहरू ३० वर्षे सेवा अवधिका कारण यही १५ भदौमा अनिवार्य अवकाशमा जाँदै छन् ।

उमेर हद बाँकी नै रहँदा पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानुपर्ने भएपछि उनीहरू अदालत गएका हुन् । उनीहरूले दिएको रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताएका छन् ।

सूचना अधिकारी घिमिरेका अनुसार ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशको व्यवस्था खारेज गर्न र रिटको टुङ्गो नलाग्दासम्म ३० वर्षे सेवा अवधिको व्यवस्था लागू नगर्न रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

१६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका ब्याचका १०८ प्रहरी अधिकारीहरू आउँदो १५ भदौमा अनिवार्य अवकाशमा जाँदै छन् ।