images

कुन फाइल कहाँ अड्किएको छ, २४ घण्टा भित्र छिनोफानो गर्नुहोला: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायलाई आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

बुधवार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उक्त निर्देशन दिएका हुन् । मन्त्री पाण्डेले भने, “मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफानो गर्नुहोला ।”

उनले असोज महिना भित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले भने, “त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेड बुकमा परेका कार्यक्रमहरूको बारेमा अनिवार्य रूपमा जानकारी गराउनुहोला ।”

“असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गर्छौँ ? गर्न सक्ने कार्यक्रमहरू के के हुन् ? गर्न नसक्ने काम के के हुन ? यस सन्दर्भमा अनिवार्य रूपमा गृहकार्य गर्दै अघि बढ्नु,” मन्त्री पाण्डेले भने ।

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोही अनुसार दिएर अघि बढ्न समेत निर्देशन दिएका छन् । त्यस्तै उनले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने औँल्याएका छन् ।

उनले कर्मचारीले इमानदारी पूर्व व्यावसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै, मन्त्री, कर्मचारीले नुनको सोझो गर्दै अनिवार्य रूपमा नतिजा दिने गरी काम गर्न आग्रह गरे । त्यसै गरी मन्त्री पाण्डेले कानुन निर्माणमा भइरहेको प्रति इङ्गित गर्दै उहाँले तीन दिन भित्र अन्तर मन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वस्त पारेको बताए ।

साथै मन्त्री पाण्डेले गर्नु पर्ने कामको प्राथमिक करण, नीतिको सूचीकरण,कानुन निर्माणको प्राथमिकताका साथै संरचनागत रूपमा कहाँ कहाँ त्रुटि छ ? त्यसबारेमा संवेदनशील भएर अघि बढ्न समेत आग्रह गरेका छन्।