images

मर्स्याङ्दी बस दुर्घटना अपडेट: २५ शव वायुसेनाको विमानमार्फत भारत पठाइयो

काठमाडौं । शुक्रवार तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ यात्रुको शव भारत पठाइएको छ ।

मृतकमध्ये २५ वटा शव भारतीय सेनाको विशेष विमानबाट महाराष्ट्र पठाइएको हो ।

अन्य दुई शव भने स्थल मार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव लिन भारतीय सेनाको विशेष विमान शनिवार दिउँसो चितवन आएको हो ।

बसका चालक र सहचालकको शव स्थल मार्ग हुँदै परिवारले गोरखपुर लान चाहेपछि उतै पठाइएको चितवन प्रहरीले जनाएको छ ।

भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किएकी छिन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीमा भएको बस दुर्घटनामा परी २७ भारतीयको मृत्यु भएको थियो । ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आँबुखैरेनी गाउँपालिका-२ ऐना पहराबाट शुक्रवार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।