images

रामेछापको लेख खर्कमा पहिरो:  ६ जनाको शव फेला, ४ जनाको अवस्था अझै अज्ञात 

रामेछाप । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका ३ लेख खर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ ।

मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन् । थापामगर शिक्षिका हुन् । मृतक अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिएकी छन् ।

पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउँकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन् । भेटिएका थप ४ वटा शव उनीहरू मध्येकै हुनसक्ने अनुमान प्रहरीको छ ।

गए राति गएको पहिरोमा परी ४ जना अझै बेपत्ता छन् । अञ्जना पहरीको सकुशल उद्धार गरिएको छ । उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।