images

प्रधानमन्त्री र कांग्रेस सभापतिविरुद्ध युवाहरूको नाराबाजी, ओली संयम बन्दा जङ्गिए देउवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । सोमबार काठमाडौंको टुडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा युवाहरुले प्रधानमन्त्री ओलीसहित नेताहरुविरुद्ध नाराबाजी गरेका हुन् । नाराबाजी गरेका युवाहरुले नेताहरु देश लुटाएको असन्टुष्टी व्यक्त गरेका गरेका थिए । तर प्रधानमन्त्री ओली र देउवासहितका नेताहरुले जनआक्रोश सम्बोधन हुने विश्वास दिलाउनुको साटो संस्कार र संस्कृति माथि प्रश्न उठाउँदै ठिक पार्नेसम्मको चेतावनीमा उत्रिए ।

गौरा विशेष कार्यक्रम हेर्न आएका दर्शकले नेताहरुविरुद्ध चोरदेखि देश छोडसम्मका शब्द प्रयोग गर्दै नाराबाजी गरे । उपस्थित सर्वसाधारणहरुले आफूहरुविरुद्ध नाराबाजी गरेपछि सम्बोधन गर्न ड्यासमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस सभापति देउवासम्म आक्रोशित बने । सिमसिमे पानीका बीच उद्घाटन भएको सो कार्यक्रममा नेताहरुको उपस्थितिलाई भिडले खासै रुचाएको थिएन । कार्यक्रम समुद्घाटनका लागि प्रधानमन्त्री ओली र देउवा सहितका नेताहरु मंचको आगाडी आएदेखि नै चर्को स्वर गर्न थालेको भिडको एक समूह प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न सुरु गर्ना साथ थप नाराबाजीमा उत्रियो । हरेक कार्यक्रममा न्यूनतम १ घण्टा सम्बोधन गर्ने गरेका ओलीले भिडबाट चोर देखि देश छोडसम्मको नाराबाजी सुनेपछि नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको असन्तुष्टी पौख्दै केही मिनेट मै आफ्नो भनाइ टुंगाए ।

उनले भने, ‘गौरा पर्व हामी हर्षोल्लासपूर्वक मनाइरहेका छौँ । यस्ता चाड पर्वहरु जसले नेपालको परिचय दिएका छन् । पहिचान दिएका छन् । नेपालको आफ्नो पन देखाएका छन् । यस्ता चाडहरुको निरन्तरता यहाँहरुले दिइरहनु पर्छ । नेपाल संस्कृतिको हिसावले अत्यन्तै धनी देश हो । सांस्कृतिक हिसावले विविधतायुक्त देश हो । पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म सानो देशमा विविध संस्कृतिहरुले युक्त छ । यो देशलाई वास्तवमा अत्यन्त आकर्षक बनाउने प्राकृतिक सुन्दरता मात्रै होइन, मानवीय र सांस्कृतिक सुन्दरताले पनि यो देशलाई अत्यन्त सुन्दर बनाएको छ । नेपाली जनता आफ्ना चाडबाडप्रति अत्यन्तै उत्साहित छन् । नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन,नेपाली संस्कृति होइन । नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिऔँ । हाम्रो देश मेलमिलापको देश हो । शान्तिपूर्ण ढंगले चल्ने देश हो । नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन । नेपाली समाज, संस्कृतिले भरिपूर्ण समाज हो । नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्छ । विश्वव्यापी रुपमा फैल्याउनु पर्दछ ।’

नेताहरुविरुद्ध युवाहरुले गरेको नाराबाजीमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त संयम बने, छोटो बोलेर मन्तव्य टुंगाए । तर सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दा कहिले कार्यक्रम कै बीचमा निदाउने, कहिले र्याल चुहाउने र कहिले आक्रोशित हुने गरेका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा भने भिडविरुद्ध खनिए । आफू बोल्न थालेलगत्तै नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै लाज नभएकाहरु, कार्यक्रम बिथोल्ने, जे गरे गर्नुस् देखि तिमिहरुको संस्कार यही हो भन्दै प्रश्न गर्न भ्याए । उनी त्यति मै रोकिएनन् नाराबाजी गर्ने समूहलाई ठिक पार्नुपर्छ भन्दै चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बोल्ने बेलामा पनि भीडले नाराबाजी गर्न छोडेनन्। देउवा मंचमा आउनेबित्तिकै होहल्ला र नाराबाजी सुरु भएपछि देउवाले भने आफूलाई सम्हाल्न सकेनन् र जंगिए।

‘लाज पनि छैन। अर्काको कार्यक्रम बिथोल्नेरु लाज नभएकाहरु, यही हो नेपालको संस्कृतिरु यही हो नेपालको चलनरु यही सिकेर आएको रुबकवासहरु।’ देउवाले आक्रोश पोखे।

​उनले गौरा पर्व बिथोल्नेहरूको कार्यक्रममा घुसपैठ भएको आरोप पनि लगाए। ‘यहाँ गौरा पर्व मनाउन आएकाहरू छन्। देउडा खेल्न आएका छन्। यहाँ न अरूको कुरा सुन्छन्। न देउडा खेल्न दिन्छन्। अरूको कार्यक्रम बिथोल्नेहरू छन्। त्यस्तालाई जनताले ठिक पार्नुपर्छ।’ देउवाले थपे।

नेताहरुको विरोधमा उत्रिएको समूहले नेताहरुको कारण देश डुबेको आशय प्रकट गरेको थियो । उनीहरुको नाराबाजीको भाव नेताहरु देश छोड्नुपर्ने सम्बन्धित थियो । नेताहरुविरुद्ध नाराबाजीमा उत्रिएको समूहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको भने पक्षमा नारा लगाएको थियो ।

सामान्यतया देशका प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री उपस्थित कार्यक्रममा नाराबाजी गर्नु निषेध जस्तै हुन्छ । देशका बागडोर सम्हालेकाविरुद्ध चोर देखि देश छोडसम्मको नाराबाजी लगाउनुलाई नैतिक व्यवहार मान्न सकिदैंन । तर देशमा बढिरहेको भ्रष्टाचार, बेरोजगारी लगायतका समस्याबाट आजित भएका जनता र युवा जमातले आफ्नो असन्तुष्टी कहाँ पोख्ने ? बंगलादेशमा भएको घटना जस्तै यो घटनालाई राजनीतिका जानकारहरुले आगो झिल्कोको रुपमा परिभाषित गरेका छन् । अब पनि जनअपेक्षा सम्बोधन नभए जनआक्रोश सतह नआउला भनेर यसै भन्न सकिदैंन ।