images

म सत्ताको खेलमा छैन अब फकाउन नआउनुः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ताको खेलमा नलाग्ने घोषणा गरेका छन्।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेस-एमालेसँग सत्ताको हिस्सेदारी नमाग्ने बताएका हुन्।

‘म कांग्रेस-एमालेका साथीहरूलाई रोष्ट्रमबाटै सम्बोधन गर्न चाहन्छु। प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, कांग्रेस-एमालेसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन।’ उनले भने, ‘सरकार छाड्न पर्दा माओवादी घाइते छैन झन् उन्मुक्ति महसुस भएको छ। अब हाम्रो प्राथमिकता सरकार होइन आन्दोलन र खबरदारी हो।’

उनले कांग्रेस-एमालेलाई झगडा गरेर आफूलाई बिचमै फकाउन र फुर्क्याउन नआउन पनि आग्रह गरेका छन् । उनले आफूमाथि अस्थिरताको आरोप लगाइएको भन्दै त्यसको खण्डन गरे।

‘प्रचण्ड अस्थिरताको कारक हो भन्ने भाष्य बनाउन निकै मिहिनेत गरियो। मैले एक्लैले ल्याएर ल्याइन्छ अस्थिरता ? ३२ सिटको पार्टीले एक्लै फेरेर सरकार फेरिन्छ ? ठुला दलको भूमिका के हो ?’ उनले थपे, ‘यहाँ साथीहरूले कांग्रेस एमालेले पटक-पटक माओवादीले धोका दिएको भन्नुभयो। कांग्रेस र एमालेले माओवादीलाई पटक पटक धोका दिएको हिसाब गर्नुभएको छ ? माओवादीले तपाईँहरूलाई प्रधानमन्त्री बनाएको हिसाबकिताब गर्नुभएको छ ? अनि माओवादीकै सहयोगले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख बनेको हिसाब खै ?

उनले हनिमुन पिरियड नसकिँदै सरकार गलत ट्र्याकमा हिँडेको भन्दै आफू खबरदारी गर्न संसद्मा बोल्नुपरेको प्रष्टीकरण दिएका छन्।