images

ट्रंकलाइन र डेडिकेटेडको विद्युत् बक्यौता सरकारले जसरी पनि उठाउँछ: राज्यमन्त्री तामाङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले उद्योगी व्यवसायीहरूसँग ट्रंकलाइन र डेडिकेटेडको बक्यौता रकम जसरी पनि उठाउने बताएका छन् ।

शुक्रवार काठमाडौं उपत्यका निर्माण व्यवसायी सङ्घको १८ औँ साधारण सभामा बोल्दै राज्य मन्त्री तामाङले यस्तो बताएका हुन् । उनले विद्युत् उपभोग गर्ने तर विद्युत्को रकम नतिर्ने भन्ने नहुने भन्दै ऊर्जा राज्यमन्त्री भएको अवस्थामा नै व्यवसायीहरूबाट रकम उठाउने बताए।

राज्य मन्त्री तामाङले ८० रुपैयाँको डन्डी १२० रुपैयाँ बेच्ने तर सरकारलाई विद्युत्को रकम नबुझाउने छुट नभएको उल्लेख गरेका छन् । उनले अहिले ठुला व्यापारीहरूले देशमा एकलौटी रूपमा विद्युत् उपभोग गर्ने पैसा नतिर्ने भन्दै मिनाहा गर्न सरकारसँग माग गरे पनि व्यापारीहरूबाट विद्युत्को रकम उठाएर छाड्ने जिकिर गरेका छन् । राज्य मन्त्री तामाङले डन्डी र सिमेन्ट व्यवसायीहरूको कारणले १ हजार निर्माण व्यवसायीहरू कालोसूचीमा परेको भन्दै उनीहरूबाट विद्युत् बक्यौता रकम उठाएरै छाड्ने जानकारी दिएका छन् ।

उनले भने,‘मुलुकको २४ खर्बको सार्वजनिक ऋण ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् प्राधिकरणले विद्युत् निर्यात गरेर तिर्न सक्छ जस्तो लाग्छ । सार्वजनिक ऋण वृद्धि हुँदै जाँदा मुलुकलाई नै लिलाम गर्ला जस्तो लागेको छ । ऋण दिएपछि लिनैपर्यो । विद्युत्को पैसा व्यवसायीहरूले बुझाएन भन्नेछ । मैले भनिसकेको छु । उपभोग गरेको विद्युत्को पैसा व्यवसायीहरूले तिर्नुपर्छ । सिमेन्ट,डन्डी वा अन्य क्षेत्र सबैले विद्युत्को रकम तिर्नुपर्छ । डन्डी र सिमेन्ट व्यवसायीहरूको कारणले १ हजार निर्माण व्यवसायीहरू कालोसूचीमा परेका छन् । यी नै व्यवसायीहरूले ८० रुपैयाँको डन्डीलाई १२० रुपैयाँमा बेच्ने गरेका छन् । अहिले ठुला व्यापारीहरूले देशमा एकलौटी रूपमा विद्युत् उपभोग गर्ने पैसा नतिर्ने अनि मिनाहा गर्नुपर्छ भन्ने गरेका छन् । व्यापारीहरूबाट विद्युत्को पैसा मन्त्रालय हुँदाहुँदै उठाएर छाड्ने प्रतिबद्धता जनाउँछु । सिँचाइ मन्त्रालय अन्तर्गतका निर्माण क्षेत्रका ठेक्का मङ्सिर पहिलो हप्ताबाट सुरु गर्छु । निर्माण व्यवसायीहरूले ठेक्का लिएका आयोजनाहरू समयमा नै सम्पन्न गर्न आग्रह गर्दछु ।’