images

ओली-देउवाविरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटीमा छुटे

काठमाडौं । नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटीमा छुटेका छन् ।

सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयले शुक्रवार ९–९ हजार रुपैयाँ धरौटी लिएर छाडेको हो ।

गत सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताको विरोध गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । गोपीकृष्ण र रामबहादुर मङ्गलवार तथा ठगुन्ना बुधवार पक्राउ परेका थिए ।

चौतर्फी दबाबपछि प्रहरीले चौथो दिनमै नै उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । विरोध गर्ने मौलिक हकको हनन हुने गरी पक्राउ गरेर फौजदारी कसुर चलाइएको भन्दै अधिकारकर्मीदेखि विभिन्न दलका नेताहरूले विरोध गरेपछि प्रहरी नरम बनेको हो ।