images

प्रचण्डलाई ओलीको प्रश्न: मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बङ्गलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् ।

शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बङ्गलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ति, उपदेश दिएको भन्दै अध्यक्ष ओलीले मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने रु भनी प्रश्न गरे ।

उनले भने – ‘हिजोतिर हो क्यारे प्रचण्ड जीले श्रीलङ्का र बङ्गलादेशबाट सिक भनेर अर्ति, उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र खुट्टा कमाउनु ? मैले डराउनुपर्ने, श्रीलङ्काबाट सिक, बङ्गलादेशबाट सिक जो चर्को स्वरमा भन्दै हुनुहुन्छ, राम्ररी सिक । म भन्न चाहन्छु, राम्ररी सिक । बेथिति चलाउन सकिँदैन आजको समयमा । चलाउनु हुँदैन । बङ्गलादेशमा केही भयो भनेर नेपालमा त्यही हुन्छ, नेपाल कुनै देशको फोटोकपी मेसिन होइन । यहाँ आफ्नो इतिहास छ । आफ्नो परम्परा छ । प्रजातन्त्र हामीले लडेर ल्याएका हौँ । मैले संविधानमा यस्तो लेखिएको छ भन्ने भन्दा पनि बोल्दा खेरी संविधानमा हामीले यस्तो लेखेका छौँ भनेर बोल्छु र त्यो हैसियत राख्छु । किनभने अहिलेको संविधान हामीले लेखेको हो । त्यस कारण संविधानमा यस्तो लेखिएको छ मात्रै होइन हामीले यस्तो लेखेका छौँ, संविधानमा । यस कानुनमा हामीले यस्तो लेखेका छौँ । यो प्रणाली हामीले यसरी–यसरी ल्याएका हौँ । यसरी व्यवस्था गरेका हौँ । यसलाई यसरी विकास गर्दै लान्छौँ । सुधार गर्दै लान्छौँ । परिमार्जन गर्दै लान्छौँ । यसलाई देश र जनताको पक्षमा अझ प्रभावकारी बनाउँदै जान्छौँ । यो प्रणालीलाई पनि । यो संविधानलाई पनि । देश र जनताको पक्षमा बनाउँदै लान्छौँ । अब कहिल्यै पनि नेपालमा त्यस प्रकारको हिंसा सम्भव छैन । त्यस प्रकारको हिंसा हुन दिइँदैन । कसैले गर्न खोजे पनि, चाहे पनि सम्भव छैन । उल्टै हामीलाई तर्साउन खोज्ने रु हामी त सधैँ बारुद माथि नै, बारुदका बिचमै यात्रा गरेर आएका हौँ । आजदेखि होइन । आधा शताब्दीभन्दा बढी समयदेखि । म ६ दशकदेखि यही देश बनाउने अभियानमा छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको पनि स्मरण गरेका छन् । उनले आफूलाई बढी प्रधानमन्त्री पद खाने भन्दा पनि समयमै हस्तान्तरण गरौँ भन्ने लागिरहेको जिकिर गरे ।

‘मैले सधैँ मै नेतृत्व गर्छु नेपालको । मै प्रधानमन्त्री हुन्छु अब भनेर हुन्छ अब रु मलाइ मन नपराउनेहरूका लागि म खुसीको खबर भन्दिनँ चाहन्छु, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ । मन नपराउनेहरूलाई खुसीको कुरो । त्योभन्दा पनि अलि हप्ता दिन अगाडी नै छोड्छु भनेको छु मैले । बढी खाऊँ भन्ने होइन कि बरु समयमै हस्तान्तरण गरौँ भन्ने छ ।’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा भएको सात बुँदे सहमति क्याप्टेन रामेश्वर थापाको घरमा गरेको पनि खुलासा गरेका छन् ।