images

कर्मचारीको तलब ५ पैसा पनि वृद्धि गर्न सक्ने अवस्था छैन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा २१ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीहरूका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अर्थतन्त्र बलियो हुँदा एकै पटक २५ प्रतिशत तनखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्न सक्ने अवस्था नरहेको जिकिर गरेका छन् । उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउ नसके पछि पारिश्रमिक र सुविधा पनि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले नियोजित र प्रायोजित रूपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रूपमा लिने गरिएको जानकारी दिएका छन् ।

उनले भने, ‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ । अहिले त यस्तो स्थिति छ की २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सक्ने स्थिति छैन । देशको अर्थतन्त्रले गर्न सम्भव छैन । मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ । अहिले अलिकति हामीले मनलाई दह्रो बनाएर कठिनाइहरू छन्, तिनीहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढायौँ भने हाम्रो पारिश्रमिक र सुविधा पनि बढ्छ । सबै चिज बढ्छ । देश जति आर्थिक रूपमा विपन्न हुन्छ, सामाजिक रुपमा विश्रृंखलित हुँदै जान्छ, राजनीतिक रूपमा अझ भाँडभैलो हुँदै जान्छ त्यस बेला हामी सबै पछि पर्छौँ, सबैको स्थिति नराम्रो हुन्छ । अहिले थुप्रो हल्ला चलेको छ, नियोजित र प्रायोजित हल्लाहरू थुप्रै चलाउने गरिएको छ । सरकारको विरोध केही नगरीकन को बहादुरी भएको छ । सरकारको विरोध गर्नु भनेको केही पनि नगरीकन प्राप्त हुने बहादुरी हो । हाम्रो संस्कृति, सभ्यता, हाम्रो सामाजिक मूल्यहरू, हाम्रो समाजको कुराहरूलाई कमजोर पार्दै लगिएको छ ।’

प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्यहरूलाई कमजोर बनाउने काम भइरहेको बताएका छन् ।