images
images

देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरू जन्मनुपर्छ: अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्ने बताएका छन् ।
शनिवार पार्टीको सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताएका हुन् । उपसभापति अर्यालले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रविहरूलाई जन्माउनुपर्ने बताएका छन् ।
उनले देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरू जन्माउनुपर्ने र आफूहरू त्यही अभियानमा लागेको उल्लेख गरे । उपसभापति अर्यालले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी सङ्गठन निर्माणमा लाग्न आग्रह गरेका छन् ।
उनले भने – ‘हामी को हौँ भनेर कहिलेकाहीँ चर्चा हुन्छ । म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, हामीले करिब ३६ हजार १०७ जना रविहरू यो देशमा जन्माउनु पर्नेछ । ३६ हजार १०७ जना रविहरू यो देशमा जन्मियो भने अनि मात्र सायद यो देशले, देशको नागरिकले, रास्वपाले हामी को हौँ भन्दै गर्दा २०७९ असार ७ गते राष्ट्रिय सभागृहमा पार्टी सभापतिज्यूले जे बोल्नुभएको थियो । हामी त्यही रहिरहनेछौँ । हामी त्यहाँबाट काहीँ विचलित भएका छैनौँ । हामी परिवर्तन भएका छैनौँ । बाजा नबजाई कन जन्ती आउँछ भने गाउँलेलाई थाहा हुँदैन । तर जन्ती आइसकेपछि बाजा बज्न थाल्छ त्यसपछि सबै गाउँलेलाई थाहा हुन्छ । २०७९ मङ्सिर ४ गते रास्वपालाई त्यस्तै भएको थियो । सायद कसैलाई थाहा थिएन रास्वपा कसरी आउँछ ? कस्ता नेताहरूको उत्पत्ति हुन्छ ? भनेर । जब मङ्सिर ४, वैशाख १० ले देखायो, सरकारमा गएर देखायौँ । त्यसपछि थाहा भयो सबैलाई यिनीहरू साँच्चै नै केही गर्न आएका रहेछन् । हामीले खाइरहेको, हामीले लिइरहेको भाग नै खोस्न आएका रहेछन् । यो देशको नागरिकलाई सुसूचित गर्न आएका रहेछन् । भ्रष्टाचारको अन्त्य गर्ने नै भए जस्तो छ यिनीहरूले त्यस कारण राजनीतिलाई ज–जसले पेसा बनाएर बसेका थिए ती पेसा बनाएर बस्नेहरू आत्तिने अवस्थाले गर्दा कहिलेलाई नेतृत्वलाई लखेटेजस्तो । केन्द्रले गल्ती नै गरेको हो कि क्या हो जस्तो तपाईँहरूलाई सशङ्कित बनाउँछ । हामीले जे बोलेका छौँ त्यसलाई परिमार्जन गर्दै जान्छौँ तर त्यही हौँ । रास्वपाका नेताहरूले भ्रष्टाचार ग¥यो भने भ्रष्टाचार गरेको हो भन्ने प्रमाणित हुनुपर्‍यो  । प्रमाणित भएपछि हामीसँग कुनै बाटाहरू छैनन् जोगाउने । त्यो अन्तिम नै हो । जनतालाई केही दिन्छु भनेर आएको मान्छे आफ्नो पार्टीभित्र बसेर भ्रष्टाचार गर्न सक्दैन । यो फरक हो हाम्रो । रास्वपाका कुनै नेताले आफ्ना श्रीमती, आफ्ना दिदी, भाइ, बहिनीलाई आफू नेता भएकाले पदमा पुर्‍याउने र सांसद बनाउने काम गर्दैन । परिवारवाद यो पार्टीमा लागु हुँदैन । सङ्गठन बिस्तारमा आचारसंहिता लागु गर्नुपर्छ । हामीले हरेक वडामा रविहरूलाई जन्म दिनुपरेछ । एक जना रविले यो देश बन्ने भएको भए उहाँ टेलिभिजनमा भएर कराउँदै गर्दा बन्थ्यो होला । बन्दैन । हामीले हाम्रो संविधान भित्रै बसेर ३६ हजार भन्दा बढी रविलाई जन्म दिनुपर्नेछ यो देशमा । रविहरू, जसले यो देशको परिवर्तन गर्नु, देशलाई समृद्ध बनाउनु, भ्रष्टाचारको अन्त्य गर्नु अनि नागरिकलाई यो देशमा राज्य, सरकार छ भनेर महसुस गराउने अवस्थामा पुर्‍याउनलाई हामीलाई ती मान्छेहरू चाहिएकाले त्यस्तो मान्छे बन्नलाई आचारसंहिता महत्त्वपूर्ण हुन्छ ।’
उपसभापति अर्यालले रास्वपामा परिवारवाद पनि लागू नहुने भन्दै अन्य पार्टीहरू भन्दा धेरै कुरामा रास्वपा फरक भएको दाबी गरेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS