images

आगामी महाधिवेशनमा सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छः शशांक 

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।

सोमवार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सांसद कोइरालाले यस पटक पार्टी सभापतिमा उठ्ने इच्छा व्यक्त गरेका छन् । उनले ठुलो मान्छे नभई असल मान्छे हुनुपर्नेमा विपीले जोड दिएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताएका छन् ।

उनले भने, ‘विपीको छोरो हुने बित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँच चोटि त चुनाव जितेँ । त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ । मैले विपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो, ठुलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ । त्यो पनि एकदम गाह्रो रहेछ फेरि । भन्दा खेरी कति सजिलो छ । असल बन्नु भनेको अत्यन्त गाह्रो हो । सबैको आधार, सम्मान गर्नुपर्छ । त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई । किनभने अरूहरूमा त्रुटि देख्छु । त्यसलाई कोट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन । त्यसैले गाह्रो छ ।’

सांसद कोइरालाले विपी व्यक्ति भन्दा पनि एउटा विचार भएको उल्लेख गरेका छन् ।