images

उपसभामुखलाई हटाउने कदम चालिए प्रतिकारमा उत्रने रास्वपाको चेतावनी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने चेतावनी दिएको छ ।
उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरूले सांसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरू प्रतिवाद गर्न तयार रहेको बताएको हो ।
बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेको जानकारी दिएका छन् । आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको पनि उनले बताएका छन् ।
उनले भने – ‘प्रधानमन्त्रीसँग मैले उपसभामुखको विषयमा असाध्यै धेरै समाचारहरू आयो । विभिन्न प्रतिक्रियाहरू विभिन्न ठाउँबाट आएका हुनाले त्यसको वास्तविकता के हो ? के सोचिरहनु भएको छ ? यसको वास्तविकता जान्नु जरुरी थियो । त्यस कारणले म उहाँसँग छलफल गर्न गएँ र मैले भने, यदि यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ, किनभने दुई तिहाइ सरकारका प्राथमिकताहरू धेरै छन् । दुई तिहाइ भनेको शक्ति हो । तर त्यो शक्तिलाई कहाँ प्रयोग, सदुपयोग गर्ने भन्ने कुरा तपाईँहरूले पक्कै पनि बुझ्नुहुन्छ होला भनेर उहाँलाई मैले सौहार्दपूर्ण रूपमा यो गलत हुन्छ । यदि यस्तै हो भने जे सोचिरहनु भएको छ अत्यन्त गलत हुन्छ र घातक हुन्छ भनेर मैले उहाँलाई बताए । उहाँले म छलफलमा छु । नेपाली कांग्रेससँग पनि छलफल गर्छु भन्नुभयो । हामी सङ्ख्यामा कम छौँ । तर मेरो चेतावनी छ उहाँहरूलाई, संसद्मा त सङ्ख्या पुर्‍याउनुहोला । यद्यपि चुनावमा त मतदाताले काँग्रेसलाई भोट हाल्ने र एमालेलाई भोट हाल्नेहरूले सँगै मिलेर सरकार चलाऊँ है भनेर भोट दिएका त होइनन् जस्तो मलाई लाग्छ । तैपनि त्यो दुई तिहाइको दम्भ उहाँहरूले लिनुभयो भने त्यो भन्दा धेरै जनता त बाहिर छन् नि । सडकमा छन् । संसद्को अङ्कगणित भन्दा धेरै जनता बाहिर छन् । काँग्रेस र एमालेले प्राप्त गरेको मत भनेको भोट हाल्न सक्ने मतदाताको ३० प्रतिशत मात्रै हो । ७० प्रतिशतको प्रतिनिधित्व रास्वपा लगायतका दलहरूले गर्छन् यो हेक्का रहोस् । ७० प्रतिशतलाई ३० प्रतिशतले च्यालेन्ज नगरे हुन्छ । उहाँहरूको यो आत्मघाती गोल हुन्छ । आफ्नै पोस्टमा गोल हान्ने विचार गर्नुभएको छ भने मेरो भन्नु के छ र ?’
यता, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भए पनि स्पष्टीकरणको मौका दिनुपर्ने बताएका छन् । आफूहरू सत्तारुढ दलहरूको आगामी कदमहरूलाई नियाली रहेको भन्दै उनीहरूको कदम अनुसार आफ्नो कदम निर्धारण गर्ने उनको भनाइ छ ।
कार्यवाहक प्रवक्ता झाले भने – ‘१८÷१९ महिना पहिला एउटा पत्रमा उहाँको हस्ताक्षर देखियो जुन पत्र सम्बन्धित मन्त्रालयमा दर्ता पनि भएको छैन । सम्बन्धित ठाउँमा पुगेको पनि छैन । भिसाको लागि अनुरोध पत्र थिएन । अन्तर वाताको लागि अनुरोध पत्र थियो । त्यतिखेर कार्यक्रमको समय धेरै नजिक आइरहेको थियो त्यसैले म लगायत मेरो टोलीलाई अलि चाँडै अन्तर वाताको समय दिन सक्छौँ कि भनेर अनुरोध पत्र हस्ताक्षर भयो । जुन गलत भयो फेरि । त्यसमा हामीले सही थियो । कुनै गल्ती थिएन भनिरहेका छैनौँ । त्यो दुरुपयोग भएको हो । तर त्यसलाई १८ महिनासम्म दबाएर, लुकाएर किन राखियो ? एउटा प्रश्न हाम्रो । यस्तै कुनै राजनीतिक दाउपेचमा प्रयोग गर्न पाइन्छ कि भनेर लुकाएर राखिएको होला नि । यदि गलत थियो भने त १८ महिना अगाडी नै गलत थियो नि । आज आएर गलत भएको हो र ? त्यसैले उहाँहरूको इमानदारितामा र दाउपेचमा प्रश्न । नयाँ गठबन्धन बनेपछि यो सान्दर्भिक भएको हो ? त्यो बेला सान्दर्भिक थिएन भन्ने हाम्रो प्रश्न हो । अर्को कुरा यदि नराम्रो नै भयो भने नराम्रो भएपछि कानुनी प्रक्रिया छ नि । छानबिन गर्न सकिन्छ । उहाँलाई स्पष्टीकरण दिने मौका दिनुपर्छ । त्यो सबै भएपछि बल्ल त्यहाँ पुग्ने हो । हाम्रो बुझाइ के हो भने संवैधानिक परिषद्मा उहाँहरूको बहुमत को हुनुपर्छ को हुनुपर्दैन भन्ने हो । कुनै पनि औपचारिक कदम चालिसकिएको छैन । सङ्कलित हस्ताक्षर कतै दर्ता भइसकेको छैन । त्यस कारण हामी छलफल मात्रै गरिरहेका छौँ । यो नै निर्णय हो भन्ने निष्कर्ष सुनाउनुपर्ने अवस्था आएको छैन । उहाँहरूले कस्तो कदम लिनुहुन्छ त्यस अनुसार छलफल गर्नेछौँ । पर्ख र हेर को अवस्थामा छौँ । तर अर्को कुरा सरोकार छ, आक्रामक रूपमा हामी तयार छौँ । आएको परिस्थितिलाई कसरी सामना गर्ने, त्यसलाई कसरी प्रतिकार गर्ने र कसरी त्यसमा हामीले कार्य गर्ने भन्ने कुरामा पूर्ण तयारी र सरोकार छ ।’
कार्यवाहक प्रवक्ता झाले आफूहरू उपसभामुखको रक्षाका निम्ति तयारी अवस्थामा रहेको बताएका छन् ।