images

रोहित पौडेल वर्ष उत्कृष्ट पुरुष खेलाडी बन्दा उत्कृष्ट महिला खेलाडीको अवार्ड कराँतेकी ऐरीकालाई

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्ड जितेका छन् ।

नेपाली क्रिकेटले २०८० सालमा प्राप्त गरेको थुप्रै ऐतिहासिक सफलता दिलाउने कप्तान रोहित वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका हुन् । रोहितको कप्तानीमा नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुन सफल भएको थियो । उनको प्रेरणादायी नेतृत्वमा नेपालले वर्ष २०८० मा पहिलो पटक एसिया कप खेलेको थियो भने उनको कप्तानीमा नेपालले ए सिसी प्रिमियर कपको उपाधि समेत जितेको छ ।

यसैबिच, किरातेकी ऐरीका गुरुङले पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् । ऐरीकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । उनले ६८ केजी तौल समूहमा नेपालको लागि रजत पदक हात पारेकी हुन् । एसियाली खेलकुदमा नेपालको लागि व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी हुन् । उनको यो रजत नेपाली कराँतेको अहिलेसम्म कै ठुलो पदक पनि हो । यस्तै वर्ष २०८० मा उनले इन्डोनेसियाको जकार्तामा भएको विश्व सितोरियो कराँते च्याम्पियनसिपमा स्वर्ण पदक आफ्नो नाममा लेखाएकी थिइन् ।

यता, टिम अफ दी ईयरको अवार्ड भने राष्ट्रिय महिला कबड्डी टोलीले जितेको छ । त्यस्तै २०८० को वर्ष युवा खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले जितेका छन् । करातेका कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । एनएसजेएफ स्पोर्ट्स अवार्डअन्तर्गत स्पेसल अवार्ड भलिबलकर्मी कुमार राईले पाएका छन् । पारा तेक्वान्दोकी पलेसा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी छिन् ।